Home मुख्य समाचार वनमा डढेलो लगाउने इन्द्रसरोवरका घिसिङ पक्राउ

वनमा डढेलो लगाउने इन्द्रसरोवरका घिसिङ पक्राउ

हेटौंडाः राप्ती डिभिजन वन कार्यालय मनहरीअन्तर्गत् पवलीभञ्ज्याङ सामुदायिक वनमा डढेलो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरा बस्ने ३८ वर्षीय सोमबहादुर घिसिङलाई इलाका प्रहरी कार्यालय भीमफेदीको गस्ती टोलीले पक्राउ गरेको हो ।

गत बुधबार घिसिङलाई पक्राउ गरिएको राप्ती डिभिजन वन कार्यालय मनहरीका योजना अनुगमन प्रमुख गगन शर्माले जानकारी दिनुभयो । घिसिङलाई पक्राउ गरी डिभिजन वन कार्यालय राप्तीले जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको जनाएको छ । घिसिङलाई अहिले अनुसन्धानका लागि सशस्त्र वन रक्षक सुरक्षा कार्यालयमा राखिएको छ । वन ऐन २०७६ अनुसार वनमा आगो लगाउनेलाई क्षतिको बिगो असुल गरी ६० हजार जरिवाना वा ३ वर्ष कैद सजाय वा सबै खालका कारबाही हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

बुधबार इन्द्रसरोवर–२, सुकौरास्थित पवली भञ्ज्याङ सामुदायिक वनमा आगो लगाएको आरोपमा घिसिङलाई नियन्त्रणमा लिएको हो । घिसिङले लगाएको आगोबाट सोही स्थानका रामबहादुर घिसिङको माटो ढुङ्गा, टिनले छाएको २ तले घरको अगाडिको भाग काठको बार्दली, झ्याल, ढोका, अन्नपात मकै ५ मुरी, तोरी ३ मुरी, फापर १ मुरी, डीएपी मल २ बोरा, पानी राख्ने ड्रम ३ वटा र भाँडाकुँडाहरु जलेर क्षति भएको थियो ।

Exit mobile version