Home खेलकुद जिल्ला फुटबल संघद्वारा राष्ट्रिय महिला टिमलाई सहयोग

जिल्ला फुटबल संघद्वारा राष्ट्रिय महिला टिमलाई सहयोग

महिला राष्ट्रिय फुटबल टिमकी सदस्य अनिता बस्नेतलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय समिति सदस्य टिकाराम लामा ।

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले महिलाको राष्ट्रिय फुटबल टिमलाई नगद सहयोग गरेको छ । महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र खेलाडी अनिता बस्नेतलाई जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य टीकाराम लामाले एक लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

वाफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा उपविजेता बन्न सफल हुने महिला टोलीलाई प्रोत्साहन गर्न जिल्ला फुटबल संघको तर्फमा पुरस्कारस्वरुप नगद प्रदान गरेको उहाँले बताउनुभयो । वाफ च्याम्पियन महिला फुटबल प्रतियोगितामा सहभागी हुने महिला टिमलाई विदाई गर्ने क्रममा गरेको घोषणाअनुरुप नगद सहयोग गरेको उहाँले बताउनुभयो । महिलालाई प्रोत्साहन गर्न, महिला खेलाडीहरुको क्षमतालाई अभिवृद्धि गराउन र अन्य जिल्लाको फुटबल संघहरुले पनि खेलाडीलाई प्रेरित गर्न पुरस्कारस्वरुप नगद प्रदान गरेको उहाँको भनाइ छ ।

राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका महिलाहरुको हौसला बढाउन मकवानपुर जिल्ला फुटबल संघबाट नै यो कार्यको सुरुवात भएको अध्यक्ष लामाले बताउनुभयो । विभिन्न प्रकारको राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका पुरुष खेलाडीहरुका लागि जिल्ला फुटबल संघले विभिन्न कामहरु गर्दै आएको बताउनुहुँदै महिलालाई पनि प्राथमिकतामा राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।

Exit mobile version