Home मुख्य समाचार २०७२ सालको भूकम्पको वार्षिकी, हेटौँडाका दुई स्थानमा स्मृति सभा

२०७२ सालको भूकम्पको वार्षिकी, हेटौँडाका दुई स्थानमा स्मृति सभा

हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा मुकुन्ददास श्रेष्ठको स्मृति सभामा सहभागी हुँदै ।

हेटौँडाः २०७२ साल बैशाख १२ गतेको भूकम्पले पुर्याएको क्षतिलाई स्मरण गर्दै भूकम्पमा ज्यान गुमाएकाको स्मृतिमा बुधबार हेटौँडाका दुई स्थानमा स्मृति सभा भएको छ ।

हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा संस्थापक क्याम्पस प्रमुख मुकुन्द दास श्रेष्ठ र हेटौँडा–४ स्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिमा केशवलाल श्रेष्ठको स्मृति सभा भएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पमा परी मुकुन्ददास र केशवलालको काठमाडौंमा निधन भएको थियो ।

हेटौँडा–४ स्थित केशवलाल श्रेष्ठको अर्धकदको प्रतिमामा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ।

केशवलाल श्रेष्ठ भलिबल खेलको तत्कालिन प्रमुख राष्ट्रिय प्रशिक्षक हुनुहुन्थ्यो । मुकुन्ददास श्रेष्ठको मकवानपुर बहुमुखी क्याम्पसमा अर्धकदको प्रतिमा स्थापना गरिएको छ भने केशवलाल श्रेष्ठको मकवानपुर जिल्ला खेलकुद परिसरमा अर्धकदको प्रतिमा स्थापना गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेल, उपाध्यक्ष अशोक शाक्य, क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष छोइसाङ लामासहित प्राध्यापक, कर्मचारी, विद्यार्थीको सहभागिता रहेको थियो ।

यस्तै केशवलाल श्रेष्ठको स्मृतिमा मकवानपुर जिल्ला खेलकुद विकास समिति परिसरमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा स्मृति सभा भएको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टसहित पदाधिकारीको सहभागिता रहेको थियो ।

Exit mobile version