हेटौँडाः बागमती प्रदेश सरकारको सिचाई, खानेपानी तथा उर्जा मन्त्री एका लाल श्रेष्ठ विद्यार्थी भर्ना अभियानअन्तर्गत शिक्षक, विद्यार्थी, अभिभावकसँगै घरदैलो कार्यक्रममा सहभागी हुनुभएको छ । हेटौँडा–१२ स्थित बुद्ध मावि र हेटौँडा–१३ स्थित महेन्द्र माविका शिक्षक, विद्यार्थी, अभिभावकसँग मन्त्री श्रेष्ठ भर्ना अभियानमा सहभागी हुनुभएको हो ।

बिहिबार बुद्ध माविका शिक्षक, विद्यार्थी, अभिभावकसँग घरदैलो अभियानमा हिँड्नुभएका मन्त्री श्रेष्ठ शुक्रबार बिहान महेन्द्र माविका शिक्षक, विद्यार्थी, अभिभावकसँग घरदैलो अभियानमा सहभागी हुनुभएको हो । भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रममा सहभागी हुन मन्त्री आउनुभएपछि विद्यालय प्रधानाध्यापकले विद्यालयको वस्तुस्थिति, आगामी योजना, विद्यालयका चुनौति र प्रयासहरुबारे जानकारी गराएका थिए । मन्त्रीको सहभागिताले शिक्षक, विद्यार्थी, अभिभावकमा उत्साह देखिएको थियो ।
बिहिबार र शुक्रबार बिहान भर्ना अभियानमा सहभागी हुने क्रममा मन्त्री श्रेष्ठले राज्यको लगानी रहेको सामुदायिक विद्यालयको सुधारमा समुदायको चासो रहनुपर्ने बताउनुभएको छ । उहाँले विद्यालय शिक्षाका लागि प्रदेश सरकारबाट हुनुपर्ने काममा आफ्नो सकारात्मक भूमिका रहने पनि बताउनुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने उहाँले स्पष्ट पार्नुभयो । शुक्रबार बिहानको घरदैलो अभियानमा वडा अध्यक्ष पेम्बा लामाको पनि उपस्थिति रहेको थियो ।