हेटौंडाः सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा गोविन्दबहादुर कार्कीलाई पठाउने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका लागि सहसचिव गोविन्दबहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय गरेको हो ।

चैत १५ गते प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको सरूवा भएसँगै बागमती प्रदेश प्रमुख सचिवविहीन भएको थियो । चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संघका सचिवहरुको बढुवा गरेसँगै ठूलो संख्यामा सचिवको सरुवा गरेकोमा तत्कालीन प्रदेश प्रमुख उपाध्याय सरुवा हुनुभएको हो । उपाध्यायको संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । उपाध्याय बागमती प्रदेशमा करिब ८ महिना बसेर सरुवा हुनुभएको हो ।