Home मुख्य समाचार प्राध्यापकद्वारा क्याम्पस प्रमुखलाई सुधारका प्रस्ताव प्रस्तुत

प्राध्यापकद्वारा क्याम्पस प्रमुखलाई सुधारका प्रस्ताव प्रस्तुत

क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल (बायाँ) लाई ध्यानाकर्षणपत्र बुझाउनुहुँदै पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष घनश्याम घिमिरे ।

हेटौँडाः मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकले क्याम्पस प्रमुख समक्ष क्याम्पस सुधारका प्रस्तावहरुसहित ध्यानाकर्षणपत्र बुझाएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईका अध्यक्ष घनश्याम घिमिरेले सोमबार नवनियुक्त क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाललाई विषयगत सुझावहरु बुझाएको हो ।

प्राध्यापक संघले संकायगत प्राध्यापकहरुसँग सुझाव संकलन गरेर क्याम्पस प्रमुखलाई बुझाएको हो । प्राध्यापक संघले शैक्षिक सुधार, अनुशासन, कक्षा–११ र १२ को व्यवस्थापन, विश्वविद्यालय, पेशागत हकहित र अन्य गरी ६ वटा शीर्षकमा क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएको छ । प्राध्यापक संघले क्याम्पसको वर्तमान अवस्थालाई विश्लेषण गरी वार्षिक कार्ययोजना बनाउनुपर्ने, शैक्षिक क्यालेण्डर निर्माण गरी शैक्षिक क्रियाकलापलाई नियमित गर्नुपर्ने, विद्यार्थी र अभिभावकको विश्वास कायमै राख्न परामर्श कक्ष सञ्चालन गर्नुपर्ने, पढ्दै कमाउँदै कार्यक्रम लागु गरी विद्यार्थीलाई इन्टर्नमा सहभागी गराउनुपर्ने, अभिभावक र सरोकारवालासँग नियमित छलफलको योजना बनाउन सुझाव दिएको छ ।

यस्तै मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनका क्रममा क्याम्पसका विद्यार्थी, अभिभावक, कर्मचारी, प्राध्यापक, सञ्चालकको सामूहिक प्रयास रहनुपर्ने, विश्वविद्यालय हुँदै गर्दा प्राध्यापकको पाँच वर्षको उपदान र एक तह स्वतः बढुवा हुने प्रावधान राख्नुपर्ने पनि प्राध्यापक संघले उल्लेख गरेको छ । प्राध्यापक र सहप्राध्यापक बढुवामा कोटा प्रणाली खारेज गर्नुपर्ने, प्राज्ञिक एवम् शैक्षिक गतिविधि गर्नका लागि प्राध्यापक संघलाई पनि निश्चित बजेटको व्यवस्था गर्नुपर्ने माग प्राध्यापक संघले राखेको छ ।

प्राध्यापक संघले गत चैत २० र २१ गते संकायगत प्राध्यापकहरुसँग छलफल गरी क्याम्पस सुधारको प्रस्ताव तयार पारेको थियो । प्राध्यापक संघको सुझाव समेटिएको ध्यानाकर्षणपत्र बुझ्नु भएपछि क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले प्राध्यापक संघको सुझावलाई नै आधार बनाएर आगामी योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Exit mobile version