Home खेलकुद प्रथम अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

प्रथम अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा प्रथम अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबार चितवन जिल्लाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक संविधान जारी भएर संघीय प्रणालीको अभ्यास भएपश्चात् पहिलो पटक प्रतियोगिताको आयोजना गरेकोमा शुभकामना व्यक्त गर्नुभयो । नेपाली खेलकुदको क्षेत्रमा पहिलो अन्तरप्रदेश खेलकुद भएको कुरालाई मध्य नजर गर्दै प्रतियोगिताले देशको सातवटै प्रदेशका परिषद् र विधागत संघहरुलाई यस्तो प्रकारका प्रतियोगिताको आयोजना गर्न थप प्रेरणा मिल्ने उहाँले बताउनुभयो । प्रतियोगिताबाट विभिन्न प्रदेशका खेलाडीहरुले छुट्टाछुट्टै शिक्षा लिन सक्ने बताउनुभयो ।

संघीयता कार्यान्वयन भएसँगै प्रदेश खेलकुद विकास परिषद्ले दुई वटा संस्करणको प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरेर अग्र स्थानमा पर्न सफल भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । अन्तर प्रदेशस्तरीय प्रतियोगिताको माध्यमले प्रतिभाशाली खेलाडीको उत्पादन हुने र अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा समेत सहभागी हुन पाउने भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । खेल क्षेत्रमा पछिल्लो समयमा नेपालले प्रगति गरेर निक्कै फड्को मारिहरेको बताउनुहुँदै नेपालको अर्थतन्त्र, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्धको विकास सन्दर्भमा समेत नेपालले प्रगति गरेको उहाँको भनाइ छ । खेलकुद क्षेत्रको वर्तमान अवस्थालाई मूल्यांकन गर्दा नेपालको खेलकुद जगतले नयाँनयाँ सफलता हासिल गर्ने उहाँले दावी गर्नुभएको छ ।

स्थानीयस्तरबाट प्रतियोगिताको आयोजना गरेमा खेलाडीहरुले बाल्यकालदेखि नै केन्द्रीय स्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने पाउने उहाँले धारणा राख्नुभएको छ । प्रतियोगितामार्फत् खेलाडीहरुको खेलप्रतिको माया बढ्दै जाने उहाँले बताउनुभयो । स्थानीय तहबाट नै खेलाडीहरुको खोजी गर्नका लागि अन्तर प्रदेशस्तरीय प्रतियोगिताले ठूलो सहयोग गरिरहेको उहाँको भनाइ छ । प्रदेशस्तरीय प्रतियोगिताले विभिन्न जिल्लाहरुमा खेलकुदमय वातावरण सँगसँगै प्रतिस्पर्धाको मनोविज्ञानमा थप टेवा पुग्ने उहाँले बताउनुभयो । भरतपुर भ्रमण वर्षको शुभारम्भ भएकोमा प्रतियोगिताले भौतिक प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने उहाँको विश्वास छ ।

प्रतियोगिताले पर्यटन, होटल व्यावसायीको अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने आंकलन प्रधानमन्त्री प्रचण्डले गर्नुभयो । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि राज्यको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताउनुभएको छ । खेल क्षेत्रलाई उच्च प्राथमिकतामा समावेश गराएर व्यवस्थापन गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई अनुशासनको पालना गर्न आग्रह गर्नुभयो । चितवन जिल्लाको गौतमबुद्ध क्रिकेट रंगशालालाई राष्ट्रियस्तरमा चिनाउनका लागि पनि प्रतियोगिता उद्घाटन कार्यक्रम रंगशालमा सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्की अध्यक्ष एवम् प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रत्येक प्रदेशले २ वर्षको अन्तरालमा प्रतियोगिता आयोजना गर्ने सहमतिबमोजिम पहिलो प्रतियोगिता बागमती प्रदेशले आयोजन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो । प्रतियोगिताले संघीयता कार्यान्वयनमा ठूलो सहयोग पुग्ने तथा प्रदेशहरु नयाँ कार्यक्रमको आयोजना गर्न सक्षम बनाउन सकारात्मक सन्देश दिएको महसुस गरेको मन्त्री मोक्तानले बताउनुभयो । प्रतियोगिताले नेपाली खेलकुदको क्षेत्रमा टेवा पुगेको बताउनुभयो । विभिन्न ७ प्रदेशका खेलाडीहरुबीच प्रतिस्पर्धा गराउन, विभिन्न प्रदेशका खेलाडीहरुको पहिचान गर्न, खेलाडीहरुको खेल कौशलता अभिवृद्धि गर्न र प्रदेशका खेलाडीहरुबीच भातृत्व कायम गराउन प्रतियोगिताको आयोजना गरेको अध्यक्ष मोक्तानको भनाइ छ ।

प्रतियोगितामा ९ वटा खेलहरु सञ्चालन हुनेछन् । महिला र पुरुष भलिबल, फुटबल, क्रिकेट, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, व्याडमिन्टनलगायतका खेलहरु सञ्चालन हुनेछन् । शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको समाापन हेटौंडा–६ स्थित गौरीटार रंगशालमा हुनेछ । १ सय ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता १ सय ३६ वटै रजत र १ सय ८६ वटा कास्य पदकको व्यवस्था गरिएको छ । प्रतियोगितामा ७ वटा प्रदेशबाट १ हजार ५ सयभन्दा बढी खेलाडीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेताले क्रमशः ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको खर्च प्रदेश खेलकुद विकास परिषद्ले व्यहोर्नेछ । यस्तै, खेलाडीहरुलाई ट्रयाकसुट, जुत्ता, मोजा र टावेल पनि प्रदान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र ७ प्रदेशका मुख्यमन्त्रीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version