Home खेलकुद अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद आजबाट, १३६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद आजबाट, १३६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आज आइतबारबाट अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुने भएको छ । चितवन जिल्लाको गौतमबुद्ध क्रिकेट रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन दिउँसो ४ बजे प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नुहुनेछ । प्रतियोगितामा ९ वटा विधामा १ सय ३६ वटा स्वर्ण पदकका लागि ७ प्रदेशका करिब १ हजार ५ सय ४७ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा छनोट हुने खेलाडीहरुलाई प्रशिक्षण दिएर १० औँ संस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने प्रदेश खेलकुदले जनाएको छ । विभिन्न प्रदेशका खेलाडीहरु विभागीय टोलीमा गएपछि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभएको छ । प्रतियोगिताको माध्यमले सबै प्रदेशले समयमा खेलाडीहरु तयार गर्ने र खेलाडी उत्पादनमा थप टेवा पुग्ने उहाँले बताउनुभयो ।

आइतबारबाट शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको समापन हेटौंडा–६ स्थित गौरीटार रंगशालामा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि १ सय ३६ वटा स्वर्ण, १ सय ३६ वटै रजत र १ सय ८६ वटा कास्य पदक गरी ४ सय ५८ वटा पदकको व्यवस्था गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव भण्डारीले जानकारी दिनुभएको छ ।

चितवन जिल्लाको गौतमबुद्ध क्रिकेट रंगशालालाई राष्ट्रियस्तरमा चिनाउनका लागि पनि प्रतियोगिताको उद्घाटन गर्न लागेको बताउनुहुँदै मकवानपुरमा फुटबल खेलप्रतिको आकर्षण बढ्दै गएकोले प्रतियोगिताको समापन हेटौंडामा गर्न लागेको उहाँले बताउनुभयो । पुरुष फुटबल प्रतियोगिताको समापनसँगै प्रतियोगिताको पनि समापन गरिने उहाँले बताउनुभयो । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगिताको समापन गर्ने लक्ष्य लिएको प्रदेशले हिजो शनिबारबाट क्याम्पामा मेयर कप फुटबल प्रतियोगिता सुरु भएकाले प्रतियोगिताको समापन गौरीटारमा गरिने उहाँले बताउनुभयो ।

प्रतियोगितामा ७ प्रदेशका खेलाडीहरुबीच ९ वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्र्तगत् पुरुष फुटबल हेटौंडाको गौरीटार रंगशालामा हुनेछ भने बाँकी ८ वटा खेलहरु भरतपुर महानगरपालिकामै हुनेछ । एथ्लेटिक्स सोमबार र मंगलबार चितवनको चित्रवन रंगशालामा र सोमबारदेखि बुधबारसम्म भलिबल भरतपुरको गेष्ट हाउस चौरमा हुनेछ ।

यस्तै, कराँते र तेक्वान्दो सोमबार र मंगलबार भरतपुर महानगरपालिकाको औद्योगिक प्रदर्शनी हलमा हुनेछ । पौडी प्रतियोगिता सोमबार र मंगलबार एल्टीडी हबेलीमा र व्याडमिन्टन सोमबारदेखि मंगलबारसम्म भरतपुर महानगरपालिकाको कभर्ड हलमा हुनेछ । महिला क्रिकेट शनिबारदेखि मंगलबारसम्म र पुरुष क्रिकेट बुधबारदेखि शनिबारसम्म गौतमबुद्ध क्रिकेट रंगशालामा हुनेछ । महिला फुटबल सोमबारदेखि शनिबारसम्म बखत स्मृति रंगशालामा र बक्सिङ औद्योगिक प्रदर्शनी कभर्ड हलमा सोमबारदेखि बिहीबारसम्म हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि प्रदेश खेलकुद विकास परिषद् अध्यक्ष एवम् बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ भने सदस्यसचिव भण्डारीको अध्यक्षतामा कार्यकारी समिति गठन गरिएको छ । प्रतियोगिताका लागि विभिन्न ५ उपसमितिहरु र ९ वटा समिति गठन गरिएको छ ।

प्रदेश खलकुद परिषद्को १७ औँ बोर्ड बैठकले प्रदेश टिमको तयारीको विषयमा समीक्षा गरेको थियो । बैठकले अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगिताको लागि विभिन्न उपसमितिको संयोजक तोकेको छ । प्रचारप्रसार समिति संयोजकमा नेपालको पहिलो रेस्लर तथा कराँतेका एकेएफ रेफ्री हिक्मत थपलिया रहेका छन् । स्वास्थ्य उपसमितिको संयोजकमा तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी अमृत तामाङ र पुरस्कार तथा खेल सामग्री व्यवस्थापन संयोजकमा अन्तर्राष्ट्रिय कराँते खेलाडी तथा चलचित्र निर्माता निरञ्जन थापालाई चयन गरेको छ ।

बैठकले खेलस्थल व्यवस्थापनको संयोजकमा प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य तथा बुद्धिचाल खेलाडी माधव तिमल्सिनालाई चयन गरेको छ । यस्तै, अनुशासन समितिमा सुनिता गौतम, प्राविधिक खेलकुद समन्वय समिति संयोजकमा धनकुमार मैनाली चयन भएका छन् । बसोबास तथा यातायात समिति संयोजकमा बोर्ड सदस्य तथा राष्ट्रिय कराँते खेलाडी उत्तम गुरुङलाई तोकिएको छ ।

नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशको टिममा परेका, अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी जनाएका र विभागीय टिमबाट राजीनामा दिएका खेलाडीहरुको आजबाट सुरु हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी रहनेछ । प्रदेशको मापदण्डअनुरुप छनोट भएका, पहिलो र दोस्रो प्रदेशस्तरीय प्रतियोगितामा पदक प्राप्त गरेका खेलाडीहरु प्रतियोगितामा सहभागी रहने जनाइएको छ ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेताले क्रमशः ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको खर्च प्रदेश खेलकुद विकास परिषद्ले व्यहोर्नेछ । यस्तै, खेलाडीहरुलाई ट्रयाकसुट, जुत्ता, मोजा र टावेल पनि प्रदान गरिनेछ ।

Exit mobile version