हेटौँडाः रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा होमिएका मकवानपुरका दुईजनाको मृत्यु भएको छ । पछिल्लो पटक रुसले पठाएको मृतक १५ जना नेपालीको सूचिमा मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङको नाम समावेश छ । थोकर र घिसिङ मकवानपुरको कुन पालिकाको कुन स्थानको हो भन्ने एकिन हुन सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलका अनुसार केही समयअघि कन्सुलर विभागका अधिकारीले थोकर र घिसिङको विषयमा सोधपुछ गरेको थियो । बुधबार कार्यालय समयपछि यस विषयमा थप जानकारी संकलन गर्न प्रयास गरिने पौडेलको भनाइ छ ।
बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार मकवानपुरका विजयबहादुर थोकर ५ महिनादेखि परिवारको सम्पर्कमा छैन । विजयकी श्रीमति हरिमायाका अनुसार विजयसँग पछिल्लो पटक गत कात्तिक ६ गते सम्पर्क भएको थियो । रेडजोनमा जानुअघि विजयले एक साता टेलिफोन सम्पर्क हुन नसक्ने जानकारी हरिमायालाई गराएका थिए । काठमाडौंमा घर बनाउने काम गरिरहेका विजय ८ लाख रुपैयाँ खर्च गरेर रुस पुगेको कान्तिपुरमा उल्लेख गरिएको छ ।
रुस–युक्रेन युद्धमा हालसम्म ३२ जना नेपालीको मृत्यु भएको रुसी सरकारले नै पुष्टि गरिसकेको छ । नेपालबाट सयौंको संख्यामा नेपाली युवा रुसी सेनामा भर्ती भएको अनुमान गरिएको छ ।