Home मुख्य समाचार स्काउटको मानार्थ पदमा नगरप्रमुखको सक्रिय भूमिकाः स्काउटका निर्वाचित आयुक्तले सपथ लिन पाएनन्

स्काउटको मानार्थ पदमा नगरप्रमुखको सक्रिय भूमिकाः स्काउटका निर्वाचित आयुक्तले सपथ लिन पाएनन्

हेटौँडाः नेपाल स्काउटले दिएको मानार्थ पदमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ । नगरप्रमुखको अस्वभाविक सक्रियताले स्काउटको निर्वाचित नगर आयुक्तले सपथ ग्रहण गर्न पाएका छैनन् । यद्यपि नगरप्रमुखको अवरोधले निर्वाचित आयुक्तलाई सपथ लिने वैकल्पिक बाटो रहन्छ । तर, नगरप्रमुखले मानार्थ पदमा रहेर सक्रिय भूमिका निर्वाह गरिरहँदा नगरप्रमुखप्रति स्काउटका अधिकारीले आश्चर्यमा छन् । नगरप्रमुख लामाले सपथ नगराउनुभएपछि फागुन २१ गते नगरआयुक्त नियुक्तिको विषय नेपाल स्काउटले सार्वजनिक गरेको छ ।

युवा विद्यार्थीको व्यक्तित्व, नेतृत्व विकास तथा जिवनोपयोगी सीप सिकाईका लागि स्थापित स्काउटमा पालिका, प्रदेश र संघीय सरकारका प्रमुखहरुलाई मानार्थ संरक्षक र अध्यक्षको पद दिइएको छ । अभिभावककोरुपमा स्वीकार गरेर स्काउटले नगरप्रमुखलाई संरक्षक र उपप्रमुखलाई अध्यक्षको पद दिएको छ । मानार्थ संरक्षकको पदमा रहनुभएकी हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नेपाल स्काउटको हेटौँडा उपमहानगर आयुक्तलाई सपथ नै गराइरहनुभएको छैन ।

गत माघ २२ गते सम्पन्न हेटौँडा उपमहानगर समितिको निर्वाचनबाट निर्वाचित १२ सदस्यीय नगर परिषद्ले अनिल आचार्यलाई आयुक्त चयन गरेको थियो । हेटौँडा उपमहानगरको आयुक्त चयन भएका अनिललाई सपथ गराउन भनी स्काउटले फागुन ३ गते उपमहानगरपालिकामा निवदेन दर्ता गराइएका थियो । निर्वाचित आयुक्तलाई सपथ गराउनुको विपरित नगरप्रमुख लामाले निर्वाचन वैधानिक नभएको, प्रतिनिधि हुन नपाएको भनी एक समूहले निवेदन दिएको उल्लेख गर्नुहुँदै दुवै पक्षलाई राखेर वार्ता गराउने प्रयास भइरहेको बताउनुभएको छ ।

नेपाल स्काउटको बागमती प्रदेशका आयुक्त शिवकुमार त्वयनाले भने कुनै किसिमको विवाद नरहेको र निर्वाचित आयुक्तलाई सपथ नगराउनु आश्चर्यको विषय भएको बताउनुभयो । नेपाल स्काउटले नगरप्रमुखलाई संरक्षक र उपप्रमुखलाई अध्यक्षको रुपमा मानार्थ पद दिएको बताउनुहुँदै प्रदेश आयुक्त त्वयनाले भन्नुभयो, “नगरप्रमुख र उपप्रमुखलाई सपथ गराइदिन भनी पत्र दर्ता गराएको सात दिनभित्र सपथ नगराए पालिकाको आयुक्तलाई प्रदेश आयुक्तले सपथ गराउन सक्ने व्यवस्था छ ।”

यता नगरप्रमुख लामाले स्काउटको एउटा पक्षले आफूहरु सहभागी हुन नपाएको भन्दै निवेदन दिएपछि वार्तामा बोलाइएको जानकारी दिनु भएको छ । “स्काउटको निर्वाचनमा आफूहरु सहभागी हुन नपाएको भनी निवेदन दर्ता गराएपछि छलफलका लागि दुवै पक्षलाई बोलाएको छु”, नगरप्रमुख लामाले भन्नुभयो, “शिक्षा अधिकृतलाई जिम्मा दिएको छु । छिट्टै विवाद समाधान हुन्छ । सपथ गराउँछु ।” निर्वाचनबाट नगर परिषद् गठन भएपछि नगरपरिषद्को निर्णय लिएर सपथका लागि निवेदन लिएर नगरप्रमुखको कार्यकक्षमा पुग्दा अभद्र व्यवहार समेत व्यहोर्नु परेको नवनिर्वाचित नगर आयुक्त अनिल आचार्यले बताउनुभयो । “हिजोका दिनमा पनि स्काउटको पोशाकमा सजिएर स्काउटलाई बुझ्नुभएकी नगरप्रमुखले स्काउटको ड्रेस नै त्यागी दिन्छु भन्दै अभद्र व्यवहार गर्नुभयो । हामीलाई बोल्नै दिनुभएन । स्काउटको नियमावली मान्दिन भन्नुभयो । हामी निर्वाचित समितिलाई गैरकानुनी भनिदिनुभयो”, नवनिर्वाचित नगरआयुक्त आचार्यले भन्नुभयो ।

गत माघ २२ गते भएको निर्वाचनले अनिल आचार्यसँगै निशा गौतम, सुमित्रा लामा, विमल खत्री, डेमिज थापा मगर, शारदा मैनाली, शर्मिला ढकाल, लक्ष्मी थापा, जोन पहाडी, इश्वर लामिछाने, किशोर श्रेष्ठ र सफिरा मिजारलाई सदस्य निर्वाचित गरेको थियो । १२ सदस्यीय नगरपरिषद्ले सर्वसम्मत अनिललाई नगरआयुक्त चयन गरेको नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य अशोक सारु मगरले जानकारी दिनुभयो । नेपाल स्काउटले हेटौँडा उपमहानगरका १३ वटा सामुदायिक विद्यालय, ५ वटा निजी विद्यालय र २ वटा संस्थागत शाखा स्थापना गरेको छ ।

Exit mobile version