हेटौँडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आउँदो चैत २ गतेदेखि ८ गतेसम्म हुन लागेको अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगिताको कार्यकारी समितिकोे बैठकले प्रतियोगिताको आयोजना चैत २५ गतेदेखि बैशाख १ गतेसम्म गर्ने निर्णय गरेको प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभएको छ ।

विभिन्न प्रदेशबाट खेलाडीहरु तयारी नभएकोले, राजनीतिक घटनासँग, प्रदेश, केन्द्रीय सरकारमा फेरबदलका कारण प्रतियोगिताको मिति सरेको सदस्य–सचिव भण्डारीले बताउनुभयो । आउँदो चैत १५ गते कक्षा–१० का विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एसईई) समेत सुरु हुने भएकोले पनि प्रतियोगिताको मिति सारिएको उहाँले बताउनुभयो ।

परीक्षाको समयमा विद्यार्थीको ध्यान पढाईमा राम्ररी जाओस्, पढाईलाई राम्ररी समय दिन पाओस् र खेलकुदको कारणले शिक्षामा असर नपरोस् भन्ने कुरालाई मध्य नजर गरेर प्रतियोगिताको समय परिवर्तन गरिएको उहाँले बताउनुभयो । धेरै कुराहरुलाई मध्यनजर गरेर अन्तरप्रदेशस्तरीय प्रतियोगिताको समय परिवर्तन गरिएको उल्लेख गर्नुहुँदै सदस्य–सचिव भण्डारीले भन्नुभयो, “पौडी प्रतियोगिताको आयोजना गर्नका लागि अहिलो मौसम चिसो भएको कारणले गर्दा चितवनको स्विमिङ पुलमा केही कामहरु गर्न बाँकी छ त्यसैले पनि प्रतियोगिता आयोजनाका लागि मिति सारिएको हो ।”

नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताबाट बागमती प्रदेशको टिममा परेको, अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी जनाएको र विभागीय टिमबाट राजिनामा दिएको खेलाडीहरुले प्रदेश खेलकुदले पहिलो पटक आयोजना गरेको प्रदेशस्तरीय प्रतियोगितामा सहभागी जनाउन पाउने उहाँले बताउनुभयो । प्रदेशको मापदण्ड अनुरुप छनोट भएको, पहिलो र दोस्रो प्रदेशस्तरीय प्रतियोगितामा पदक प्राप्त गरेर छनोट भएको हुनुपर्ने बताउनुहुँदै विभिन्न संघहरुको अन्तर्राष्ट्रिय निमय बमोजिम प्रतियोगितामा सहभागिता जनाउन पाउने बताउनुभयो ।

सदस्य सचिव भण्डारीका अनुसार प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट हुने खेलाडीहरु प्रतियोगितामा सहभागी जनाउन पाउने छन् । विभिन्न ७ प्रदेशका खेलाडीहरुबीच प्रतिस्पर्धा गराउने, विभिन्न प्रदेशका खेलाडीहरुको पहिचान गर्न, खेलाडीहरुको खेल कौशलताको अभृवृद्धि गर्न र प्रदेशका खेलाडीहरुबीच भातृत्व कायम गराउन पनि अन्तरप्रदेशस्तरीय प्रतियोगिताको आयोजाना गर्न लागेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाउनका लागि विभिन्न प्रदेशहरुले खेलाडी छनोट गर्नेछन् । प्रतियोगितामा ९ वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्गत महिला पुरुष भलिबल, क्रिकेट, तेक्वान्दो, कराँते, बक्सिङ, पौडी, व्याडमिन्टन लगायतका खेलहरु हुनेछ ।

चितवनको गौतमबुद्ध क्रिकेट रंगशालामा हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहालले गर्नुहुनेछ भने समापन हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ । अन्तरप्रदेशस्तरीय प्रतियोगिताका लागि बक्सिङ, तेक्वान्दो, एथ्लेटिक्स लगायतको छनोट सम्पन्न भएको छ । प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट हुने खेलाडीहरुलाई एक साता बन्द प्रशिक्षण राखिने उहाँले बताउनुभयो । चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित गौतमबुद्ध क्रिकेट रंगशालामा हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नुहुनेछ भने प्रतियोगिताको समापन हेटौँडामा हुनेछ । मकवानपुरमा फुटबल खेलको अकर्षण बढी भएकोले महिला फुटबल हेटौँडा–६ स्थित गौरिटार रंगशालामा हुनेछ भने पुरुष फुटबल हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।

प्रतियोगिता आयोजनाका लागि ६ करोड बजेट विनियोजन भएपनि करिब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकको विजेताले क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।