Home मुख्य समाचार नेपालमा आधुनिक ट्रेडिङ प्लेटफर्मको आवश्यकता

नेपालमा आधुनिक ट्रेडिङ प्लेटफर्मको आवश्यकता

नेपालको वित्तीय प्रणाली देशको आर्थिक मेरुदण्डका रूपमा स्थापित छ, जसले बचतलाई लगानीमा रूपान्तरण गर्दै समग्र आर्थिक गतिविधिलाई निरन्तर गतिशील बनाइरहेको छ । केन्द्रीय बैंकदेखि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, बीमा संस्था, सहकारी तथा पूँजी बजारसम्म फैलिएको यसको संरचनाले उत्पादन, रोजगारी र उद्यमशीलताको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । तर व्यवहारिक रूपमा हेर्दा यो प्रणाली अझै पनि संरचनागत रूपमा पुरानो सोचमै आधारित देखिन्छ, जहाँ प्रक्रिया सधैं ढिलो, सीमित पहुँचयुक्त र प्रविधिमा पूर्णरूपमा निर्भर नभएको अवस्था छ । विशेषगरी पूँजी बजार अर्थात् सेयर बजार, अझै पनि अस्थिरता, सूचनाको असमान पहुँच ब्रोकरको ढिलासुस्ती कारोबार, अफवाहमा आधारित निर्णय र सीमित वित्तीय ज्ञानका कारण पूर्ण रूपमा सक्षम बन्न सकेको छैन । यसले दीर्घकालीन लगानी संस्कृतिलाई कमजोर बनाएको छ र बजारलाई कहिलेकाहीँ अनुमान र भीड मनोविज्ञानले चलाउने अवस्था सिर्जना गरेको छ । यस्तो अवस्था केवल लगानीकर्ताको समस्या होइन, यो समग्र वित्तीय प्रणालीप्रति विश्वास घटाउने संरचनात्मक चुनौती हो । यदि वित्तीय बजारप्रति विश्वास कमजोर भयो भने बैंकिङ प्रणालीदेखि लगानी वातावरणसम्म सबै प्रभावित हुन्छ, जसको प्रत्यक्ष असर आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र राष्ट्रिय उत्पादन क्षमतामा पर्छ ।

अब नेपालले केवल सुधारात्मक कदम होइन, वित्तीय प्रणालीको पुनःपरिकल्पना गर्ने स्तरको सोच आवश्यक बनाएको छ । यही सन्दर्भमा एउटा नयाँ दृष्टिकोण गम्भीर रूपमा छलफलमा आउनुपर्ने देखिन्छ । अन्तर्राष्ट्रिय स्तरको आधुनिक कारोबार प्लेटफर्म, जुन परम्परागत सेयर बजारभन्दा पूर्णरूपमा फरक अवधारणामा आधारित हुनेछ । यहाँ लगानीकर्ताले कम्पनीको स्वामित्व किन्ने होइन, बजारको मूल्य चालको विश्लेषण गरेर छोटो वा मध्यम अवधिमा ‘किन्ने’ र ‘बेच्ने’ गर्छन् तर सेयर बजारमा जस्तो कम्पनीको मालिक बन्दैन । यस्तो प्रणाली प्राविधिक विश्लेषण, जोखिम व्यवस्थापन, अनुशासन र रणनीतिक सोचमा आधारित हुन्छ ।

विश्वका धेरै विकसित वित्तीय केन्द्रहरूमा यस्तो प्रणाली पहिले नै विकास भइसकेको छ, जहाँ बजार २४ घण्टा सञ्चालन हुने र हप्ताको पाँच दिन निरन्तर खुला रहने व्यवस्था हुन्छ । यसले लगानीकर्तालाई समयको सीमाबाट मुक्त गर्दै अवसरलाई निरन्तर प्रयोग गर्न सक्षम बनाउँछ । नेपालमा पनि यदि यस्तो संरचना ल्याउन सकियो भने अहिले देखिएको धेरै समस्याहरु जस्तै लुकेर विदेशी प्लेटफर्म प्रयोग गर्नु, पूँजी पलायन हुनु, र अनौपचारिक कारोबार बढ्नु यी सबैलाई नियन्त्रण गर्न सकिन्छ । अहिले हजारौँ नेपाली युवा फोरेक्स, क्रिप्टो वा अन्य विदेशी डिजिटल प्लेटफर्मतर्फ आकर्षित भइरहेका छन्, जसमा न त पूर्ण कानुनी सुरक्षा छ, न त राज्यको निगरानी । यसले व्यक्तिगत जोखिम मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमा पनि गम्भीर असर पारेको छ । त्यसैले राज्यले अब ढिला नगरी आफ्नै नियमनभित्रको सुरक्षित डिजिटल ट्रेडिङ प्रणाली विकास गर्नु अत्यावश्यक छ ।

तर यस्तो प्रणाली केवल विचारले मात्र सम्भव हुँदैन, यसका लागि स्पष्ट तीन तहको संरचना आवश्यक हुन्छ । पहिलो कानुनी तथा नीतिगत आधार, हालको पूँजी बजार कानुन मुख्यतः परम्परागत सेयर किनबेचमा सीमित भएकाले नयाँ प्रकारका डिजिटल कारोबार, डेरिभेटिभ उपकरण र मूल्य–आधारित ट्रेडिङ प्रणालीलाई समेट्ने गरी कानुन संशोधन गर्नुपर्छ । दोस्रो प्रविधिगत पूर्वाधार उच्च गतिको डिजिटल सर्भर, वास्तविक समय बजार डेटा, सुरक्षित अनलाइन कारोबार प्रणाली, कृत्रिम बुद्धिमत्तामा आधारित चार्ट विश्लेषण र प्रयोगकर्तामैत्री मोबाइल तथा वेब प्लेटफर्म अनिवार्य हुन्छ । यसले नेपाललाई केवल उपभोक्ता होइन, वित्तीय प्रविधिको उत्पादक देशतर्फ पनि लैजान सक्छ । तेस्रो मानव संसाधन र वित्तीय शिक्षा, यस्तो प्रणाली सफल हुनका लागि नागरिकलाई केवल अवसर होइन, जिम्मेवारी पनि सिकाउनुपर्छ ।

वित्तीय साक्षरता, जोखिम बुझाई, अनुशासन र दीर्घकालीन सोचलाई विद्यालयदेखि नै विस्तार गर्नुपर्ने हुन्छ । अन्यथा कुनै पनि उन्नत प्रणाली गलत प्रयोगमा जान सक्छ । त्यसैले सरकारले, विश्वविद्यालयहरूले र निजी क्षेत्रले मिलेर ठूलो स्तरको तालिम अभियान सञ्चालन गर्नुपर्छ । यस प्रणालीको अर्को विशेषता भनेको यसको सञ्चालन समय हो, यसलाई २४ घण्टा सञ्चालन हुने र हप्ताको पाँच दिन खुला रहने संरचनामा विकास गर्न सकिन्छ । जसले विभिन्न समय तालिका भएका व्यक्तिहरूलाई पनि सहभागी हुन सहज बनाउँछ । यसले नेपालको वित्तीय बजारलाई विश्वस्तरको गतिशीलता प्रदान गर्न सक्छ र बिदेशमा बसोबास गर्ने नेपालीलाई पनि प्रयोगमा सहजता प्राप्त हुनेछ ।

यदि नेपाल सरकारले यस्तो प्रणाली सफलतापूर्वक विकास गर्न सक्यो भने यसको प्रभाव केवल आर्थिक क्षेत्रमा मात्र सीमित रहने छैन, यो सामाजिक, प्रविधिगत र राष्ट्रिय सोचमै परिवर्तन ल्याउने स्तरको हुनेछ । सबैभन्दा पहिले, नेपाली पूँजी नेपालभित्रै रहनेछ, जसले अहिलेको पूँजी पलायन समस्यालाई ठुलो हदसम्म समाधान गर्नेछ । नागरिकहरूले घरमै बसेर आफ्नै समय र क्षमताका आधारमा आयआर्जन गर्न सक्नेछन्, जसले रोजगारीको परम्परागत परिभाषालाई विस्तार गर्नेछ । त्यस्तै युवाहरूलाई विदेश जानुपर्ने बाध्यता घट्नेछ, किनभने उनीहरूले देशभित्रै बसेर अन्तर्राष्ट्रिय वित्तीय गतिविधिमा सहभागी हुन सक्नेछन् । राज्यका लागि यो प्रणाली स्थायी राजस्व स्रोत बन्न सक्छ, किनभने हरेक कारोबारबाट कर तथा सेवा शुल्क संकलन गर्न सकिन्छ ।

वित्तीय पारदर्शिता बढ्नेछ र अनौपचारिक कारोबार नियन्त्रणमा आउनेछ, जसले मनी लाउन्डरिङ तथा अवैध वित्तीय गतिविधि घटाउन मद्दत गर्छ । साथै सूचना प्रविधि, डेटा विज्ञान, जोखिम विश्लेषण र वित्तीय सेवामा ठूलो मात्रामा रोजगारी सिर्जना हुनेछ । यसले नेपाललाई केवल उपभोक्ता अर्थतन्त्रबाट उत्पादनशील डिजिटल अर्थतन्त्रतर्फ लैजान सक्छ । अन्ततः यो केवल नयाँ कारोबार प्रणाली होइन, यो सोच परिवर्तनको सुरुवात हो जहाँ स्वामित्व होइन, विश्लेषण, अनुशासन र प्रविधि मुख्य आधार हुन्छ । यदि राज्यले यसलाई दीर्घकालीन रणनीतिक योजनाका रूपमा लिएर कार्यान्वयन गर्न सक्यो भने नेपालले आफ्नो वित्तीय प्रणालीलाई केवल सुधार होइन, अन्तर्राष्ट्रियस्तरमा उदाहरण बन्न सक्ने आधुनिक डिजिटल अर्थतन्त्रको रूपमा रूपान्तरण गर्न सक्छ ।

Exit mobile version