Home मुख्य समाचार बागमती प्रदेशसभा बैठकः विशेष समिति गठन गर्ने प्रस्ताव पारित

बागमती प्रदेशसभा बैठकः विशेष समिति गठन गर्ने प्रस्ताव पारित

हेटौंडाः बामगती प्रदेशसभा बैठकबाट विशेष समिति गठन गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन गरिएको हो ।

बागमती प्रदेशमा बजेटको विषयमा आएको विवाद समाधान गर्न विशेष समिति गठन गर्ने सर्वदलीय बैठकबाट सहमति भएपछि प्रदेशसभा बैठक बिहीबार दिउँसो साढे २ बजे बसेको थियो । विगतमा प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच भएको समझदारी र मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीले आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रमको सम्बन्धमा सभासमक्ष भएको प्रतिबद्धतालाई संविधान, ऐन, कानुनअनुसार कार्यान्वयन गराउने गरी बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन भएको हो ।

प्रदेशसभा नियमावली पहिलो संशोधनसहितको नियम १५२ बमोजिम समिति गठन भएको छ । गठित समितिले २०८० फागुन २९ गते मंगलबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रतिवेदन पेस गर्नुपर्नेछ । समितिको कार्यविधि समिति आफैंले तोकेबमोजिम रहनेछ ।

प्रदेशसभामा माओवादी बामगती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालले समिति गठन गर्ने प्रस्ताव पेश गर्नुुभएको थियो । विशेष समितिमा ११ सदस्य रहेका छन् । विशेष समितिको संयोजकमा प्रदेशसभा सदस्य गोविन्द लम्साल रहनुभएको छ । समितिको सदस्यमा प्रदेशसभा सदस्यहरु इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, डा. दिनेशचन्द्र देवकोटा, प्रभात तामाङ, बसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य रहनुभएको छ ।

यस्तै, प्रदेशसभामा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले प्रदेशसभा नियमावली २०७४ को नियम १०६ को उपनियम २ बमोजिम प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गर्नुभएको छ । उक्त विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेशसभामा लेखा समितिमा रहेका प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाललाई सभामुख भुवनकुमार पाठकले शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा हेरफेर गर्नुभएको छ । प्रदेशसभाको अर्को बैठक फागुन २९ गते मंगलबार दिउँसो ३ बजे बस्ने सभामुख पाठकले जानकारी गराउनुभयो ।

Exit mobile version