हेटौँडाः हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल मावि व्यवस्थापन समितिको अध्यक्षमा पुनः अमृत ओली निर्वाचित हुनुभएको छ । कक्षा–१० मा अध्ययनरत कल्पी ओलीकी बुबा अमृत दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । बुधबार बसेको व्यवस्थापन समितिको बैठकले ओलीलाई अध्यक्ष चयन गरेको हो ।
यसअघि गत माघ १९ गते ४८ औं अभिभावक भेला सम्पन्न भएको थियो । अभिभावक भेलाका दिन सहमति जुट्न नसकेपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुन सकेको थिएन । बुधबार विद्यालय व्यवस्थापन समितिमा अभिभावकको प्रतिनिधिमा ओलीसहित पूर्णबहादुर घलान, सानुमाया मुक्तान र सन्चमाया गोले चयन हुनुभएको थियो । वडा प्रतिनिधिमा वडाध्यक्ष नरनाथ सुवेदी, शिक्षक प्रतिनिधिमा प्रेमबहादुर जिम्बा चयन हुनुभएपछि नवनिर्वाचित समितिले सुमित्रा दुुलाल र तीर्थराज दाहाललाई सदस्य मनोनित गरेको थियो ।
नवनिर्वाचित समितिको ३ वर्षे कार्यकाल रहनेछ । कक्षा १२ सम्म पठनपाठन हुने निर्मल माविमा एक हजार सात सय ६० विद्यार्थी अध्ययनरत छन् । निर्मल माविमा ६० जना विद्यार्थी छात्रावास सुविधासहित अध्ययनरत छन् ।