हेटौँडाः हेटौँडा उपमहानगरका १० वटा विद्यालयमा “खेल्दै सिक्दै” परियोजना सकिएको छ । विद्यार्थीमैत्री वातावरणमा क्रियाकलापमा आधारित प्रभावकारी सिकाईलाई प्रोत्साहन गर्ने गरी काठमाडौंको कारखाना समूहले “खेल्दै सिक्दै” परियोेजना सञ्चालन गरेको थियो । सात महिना शिक्षक र विद्यार्थीसँग विविध क्रियाकलाप गरेर विद्यालयको कक्षाकोठामा शिक्षक र विद्यार्थी बीच सिक्ने–सिकाउने प्रक्रियामा सहजीकरण गरेको परियोजनाको अन्त्यमा कारखाना समूहले शिक्षकहरुका लागि कार्यशाला, विद्यार्थीको प्रदर्शनी र परियोजनाको विषयमा बहसको आयोजना गरिएको थियो ।
गत शनिबार एक कार्यक्रमबा बीच कारखाना समूहले सहकार्य गर्ने विद्यालय, शिक्षक र वडा कार्यालयलाई समेत प्रशंसापत्र प्रदान गरेको थियो । कारखाना समूहका निर्देशक हशिन शाक्यको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टमा समापन समारोह भएको थियो । समापन समारोहमा १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानको पनि आतिथ्य रहेको थियो । खेल्दै सिक्दै परियोजना हेटौँडाका ७ वटा समुदायिक विद्यालय र ३ वटा निजी विद्यालयमा सञ्चालन गरिएको थियो ।
परियोजना समापन समारोहअघि गत शुक्रबार हेटौँडा–१६, हटियास्थित जनप्र्रिय माविमा तीन वटा समूहमा शिक्षकहरुका लागि कार्यशालाको आयोजना गरिएको थियो । कार्यशालामा भावनात्मक परिपक्वताका विषयमा डा. भावना शाक्यले सहजीकरण गर्नुभएको थियो भने संकेतार्थ तथा सूचना प्रविधिसम्बन्धमा स्मार्ट चेलीकी संस्थापक प्रतिक्षा पाण्डेले सहजीकरण गर्नुभएको थियोे । यस्तै काठमाडौं विश्वविद्यालयकी प्राध्यापक डा. मिनाक्षी दाहालले “खेल्दै सिक्दै” विषयको सहजीकरण गर्नुुभएको थियो ।
खेल्दै सिक्दै परियोजना प्रभावकारी रहेको ठहर गर्दै यसलाई पालिकाको समेत सहयोेगमा सबै विद्यालयमा विस्तार गर्न आवश्यक रहेको जनप्रिय माविका शिक्षक युक्तलाल विश्वकर्मा बताउनुहुन्छ । परियोजनामा सहभागी विद्यार्थीले पनि खेल्दै सिक्दै परियोजनाले सिक्ने, बुझ्न प्रेरित गरेको र सिकाई, बुझाई पनि प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । कारखाना समूहका निर्देशक हशिन शाक्यले पालिकासँगको सहकार्यमा परियोजनालाई निरन्तरताका साथै थप विस्तार गर्दै लैजान सकिने प्रतिक्रिया जनाउनुभएको छ ।