हेटौंडाः हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाले सञ्चालनमा ल्याएको तीनवटा क्वारेन्टाइन अहिले खाली भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका पहिलो चरणका ९ जना १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षणमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएपछि घर पठाइएसँगै क्वारेन्टाइन खाली भएको वडा अध्यक्ष ललित घलानले जानकारी दिनुभएको छ ।
पछिल्लो समय दिल्लीबाट आएको ६ जनाको परिवार नै आफ्नै घरमा क्वारेन्टाइनमा छन् भने अर्का एक व्यक्ति पनि घरमै क्वारेन्टाइनमा रहेको वडा अध्यक्ष घलानले बताउनुभयो । ६ जनाको परिवार सोमबार हेटौंडा आइपुगेका र अर्का एकजना गत बिहिबार पदमपोखरी आइपुगेका हुन् । १२ नम्बर वडाले स्थानी बुद्ध मावि, पशुपती आधारभूत विद्यालय र प्रतिभा आधारभूत विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरेको थियो ।