Home मुख्य समाचार लिटिल बड्डीको अभिभावक दिवस सम्पन्न

लिटिल बड्डीको अभिभावक दिवस सम्पन्न

अभिभावक दिवसमा सार्वजनिक यातायात प्रयोग गर्दा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई बस्ने व्यवस्था मिलाउनुपर्ने विषयमा व्यवहारिक अभ्यास प्रस्तुत गर्दै विद्यार्थी ।

हेटौँडाः हेटौँडा–४ स्थित लिटिल बड्डी प्रि–स्कूलले अभिभावक दिवसको आयोजना गरेको छ । ५ वर्षअघि सञ्चालनमा आएको बेलायत फ्रेन्चाइज प्रि–स्कूलले पहिलो पटक अभिभावक दिवसको आयोजना गरेको हो । अभिभावक दिवसमा विद्यार्थीले गायन, नृत्य तथा नाट्यकला प्रस्तुत गरेका थिए ।

प्रि–स्कूल सञ्चालक योवराज दाहालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा सदस्य जनरल श्रेष्ठको प्रमुख आतिथ्यमा अभिभावक दिवस समारोह भएको हो । अभिभावक दिवसलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि जनरल श्रेष्ठले हेटौँडामा लिटिल बड्डी सञ्चालनमा आएर बालबालिकाको सर्वाङ्गिण विकास चाहने अभिभावकका लागि सहज भएको बताउनुभयो । लिटिल बड्डी प्रि–स्कूलको आफू पनि अभिभावक भएको उल्लेख गर्नुहुँदै श्रेष्ठले ४ नम्बर वडा शैक्षिक केन्द्रको रुपमा विकसित हुँदै जाँदा वडा कार्यालयले पनि शिक्षालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिनुभयो ।

अभिभावक दिवसमा लिटिल बड्डी किन्डरगार्डेन भारतकी संस्थापक एवम् दक्षिण एसिया प्रमुख राज्या गंगाधरणको पनि उपस्थिति रहेको थियो । अभिभावक दिवसमा सहभागी हुन भारतबाट आउनुभएकी गंगाधरणले हेटौँडामा लिटिल बड्डी प्रि–स्कूलको सञ्चालन र अभिभावकको उपस्थिति प्रशंसनीय रहेको बताउनुभयो । बालबालिकाको उचित स्याहार र सर्वाङ्गिण विकासमा लिटिल बड्डीको कामलाई लिएर कुनै गुनासो भए निर्धक्क राख्न आग्रह गर्नुहुँदै अभिभावकको प्रतिक्रियाले अझै सुधार गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

लिटिल बड्डी प्रि–स्कूल हेटौँडाका सञ्चालक योवराज दाहालले पाँच वर्षअघि ४ जना शिक्षक र १५ जना विद्यार्थीबाट सुरु भएको प्रि–स्कूलमा अहिले ४० जना शिक्षक र एक सय ८८ जना विद्यार्थी रहेको जानकारी दिनुभयो । बेलायती फ्रेन्चाइज लिटिल बड्डी प्रि–स्कूल दक्षिण एसियामा नेपाल, भारत, श्रीलंका, बंगलादेशसहित १० देशमा ९१ वटा स्कूल सञ्चालित छन् । नेपालमा हेटौँडासँगै गतवर्षदेखि बीरगन्जमा पनि सञ्चालनमा लिटिल बड्डी प्रि–स्कूल सञ्चालनमा रहेको छ । कार्यक्रममा सहभागी अभिभावकले प्रि–स्कूलले आफ्ना नानीबाबुलाई राम्रो संस्कार, शिक्षा र जिवनोपयोगी व्यवहार सिकाई रहेको भन्दै खुसी व्यक्त गरेका थिए ।

Exit mobile version