Home मुख्य समाचार मन्त्री चित्रकारद्वारा बकैया औद्योगिक ग्राम अवलोकन

मन्त्री चित्रकारद्वारा बकैया औद्योगिक ग्राम अवलोकन

बकैयामा निर्माणाधिन उद्योग ग्रामको अवलोकन गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्राकार ।

बकैयाः बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले बकैयामा निर्माणाधीन औद्योगिक ग्रामको अवलोकन गर्नुभएको छ । बिहीबार मन्त्री चित्रकारले बकैया–७ मा निर्माणाधीन अवस्था रहेको कृषि उद्योगको अवलोकन गर्नुभएको हो ।

अवलोकनपश्चात् मन्त्री चित्रकारले औद्योगिक ग्रामले कृषि प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । थोरै स्थानीय तहले मात्रै उद्योग सञ्चालनमा जोड दिएकोले आफूले पनि सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा उद्योग ग्राम निर्माणको लागि बजेट विनियोजन गर्ने आश्वासन दिनुभयो । उहाँले प्राकृतिक स्रोत साधन उपयोग गर्न सबै डराएको बताउनुभएको छ । उहाँले कानुन बलियो नहुँदा कार्मचारी र प्रतिनिधिले प्राकृतिक स्रोतसाधन उपयोग गर्न डराएको बताउनुभयो ।

देश संघीयतामा गएता पनि ऐन कानुन निर्माण हुन नसक्दा काम गर्न असहज भएको उहाँले धारणा राख्नुभयो । अन्य विकसित देशहरु प्राकृतिक स्रोत साधनको परिचालन गरेर विकास भएको बताउँदै प्राकृतिक स्रोत उपभोगका लागि आवश्यक रहेकोमा जोड दिनुभयो । संघीय, प्रदेश र स्थानीय सरकारले पछिल्लो सयम पूर्वाधार विकासलाई मात्रै विकास मान्ने मनोभावले गर्दा देशमा विकासले गति लिन नसकेको बताउँदै उहाँले भन्नुभयो, ‘विकासको जग बलियो बनाउन नागरिक सक्षम हुन जरुरी छ । जनतालाई रोजगारी सिर्जना गर्न सके विकास सुनिश्चित छ । दिगो विकास हुन उद्यमशीलता आवश्यक छ, जसले युवालाई पलायन हुनबाट रोक्छ । सरकारले उद्योगमा लगानी गर्न आवश्यक छ ।’

मन्त्री चित्रकारले प्रहदेश सरकार स्थानीय सरकारसँग सहकार्य गर्न तयार रहेकोसमेत बताउनुभयो । प्रदेश सरकारसँग स्रोत साधन पर्याप्त नभएको बताउँदै सबै मन्त्रालयभन्दा आफ्नो मन्त्रालय कमजोर भएकाले आगामी आर्थिक वर्षमा उच्च स्थानमा रहेर काम गर्ने उद्देश्यले आफू लागिपरेको उहाँको भनाइ छ । आफूले भूमिबैंक नीति निर्माणमा लगेको र अन्तिम चरणमा रहेको बताउनुभयो । आफू मन्त्री भएपश्चात् हेटौंडा कपडा उद्योगमा चासो देखाई केन्द्रमा लविङ गरेकोसमेत उहाँले जानकारी दिनुभयो । उद्योग सञ्चालन केन्द्रीय सरकार मातहत भएकाले सबै सरकारसँग सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिका मल कारखाना, दाना उद्योग, साइलेज उद्योग निर्माणको चरणमा रहेको बताउनुभयो । पालिकाले कृषिलाई प्रबद्र्धन गर्न, कृषकलाई प्रोत्साहन गर्न र रोजगारी सिर्जनाबाट युवालाई वैदेशिक पलायन हुनबाट रोक्न उद्योग ग्राम निर्माणमा जोड दिएको उहाँको भनाइ छ । स्थानीय सरकारले किसानलाई प्रोत्साहनस्वरुप १४ लाख रुपैयाँ बराबरको बहुवर्षीय घाँसको विरुवा उपलब्ध गराएको बताउनुभयो ।

स्थानीय सरकारले गरिब, एकल महिलालाई लक्षित गरी तालिम प्रदान गरेर एक सय मौरीको घार वितरण गर्न लागेको बताउनुभयो । बाख्रा पकेट क्षेत्रमा लागत साझेदारीमा आधुनिक बाख्रा फार्म सञ्चालनका लागि वडा नम्बर १, २, ६ र ८ मा सहयोग गरेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । कृषकहरुलाई मागको आधारमा साना सिंचाई कार्यक्रम सञ्चालन तथा कृषियन्त्र वितरण गरेको बताउनुभयो । उहाँले कृषकलाई फलफूल पकेट क्षेत्रमा फलफूूलको विरुवा वितरण र घाँसखेती प्रवद्र्धनका लागि अनुदान वितरण गरेको जानकारी गराउनुभयो ।

गाउँपालिका अध्यक्ष लामिछानेले जनशक्तिको अभाव र बजेटमा आन्तरिक स्रोतको हिस्सा बढाउन चुनौतीपूर्ण रहेको जानकारी दिनुभयो । नदीजन्य पदार्थको स्टक हालसम्म जिल्ला समन्वय समितिले प्रमाणित नगर्दा राजश्वमा प्रत्यक्ष असर परेको उहाँको भनाइ छ । भौगोलिक विकटता र छरिएको बस्तीका कारण भौतिक पूर्वाधारको विकासमा समस्या भई सेवा प्रवाह प्रभावकारी हुन नसकेको बताउनुभयो । नागरिक चेतनाको कमीले विकासको बुझाईमा एकरुपता कायम गर्न र सिमित स्रोत साधनका बिच नागरिकको बढ्दो महत्वकांक्षा पूरा गर्न पालिकालाई चुनौती भएको उहाँले बताउनुभयो ।

अध्यक्ष लामिछानेले प्रदेश सरकारले कृषिजन्य उद्योग तथा उद्यमशीलता विकासका लागि आवश्यक स्रोतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । स्थानीय तहको मुख्य राजस्वको स्रोतको रुपमा रहेको नदीजन्य पदार्थसम्बन्धी कानुनी स्पष्टता तथा मार्गदर्शनका लागि आवश्यक समन्वय तथा पहल गरिदिनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले सरकारले स्रोत साधनको विकास गर्न आवश्यक रहेको बताउँदै भौतिकमात्र नभई जनताको आवश्यकताको आधारमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । गरिबी न्यूनीकरणका लागि पालिका लागिपर्नेमा उहाँले जोड दिनुभयो । ३२ सालमा नापी भएको जग्गाको लालपुर्जा मानिसले नपाएकाले जनताले भू–स्वमित्व नपाएको बताउनुभयो ।

Exit mobile version