हेटौंडाः विपन्न परिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिने भनिएका १ हजार ४ सय १६ घर निर्माणको कार्य चालु वर्षमा अगाडि नबढ्ने भएको छ । आर्थिक वर्ष २०७५/७६ बाट क्रमागत भएर आएको मकवानपुरका ६ सय ५० घर र चितवनका ७ सय ६६ घर निर्माणको काम चालु वर्षमा अगाडि नबढ्ने निश्चित बनेको छ ।
चालु वर्षको फागुन मसान्तमा यसको कार्यविधि आएपनि चैत्रदेखि कोरोनाका कारण मुलुक लकडाउन भएसँगै भवन निर्माणका काम अगाडि नबढ्ने भएको शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख सञ्जय पाण्डेले बताउनुभयो । सरकारले गरिब, लोपोन्मुख, आवासबिहिन, सिमान्तकृत, दलितका लागि घर दिने उद्देश्यले जनता आवास कार्यक्रमको सुरुवात गरेको थियो । संघीय सरकारले प्रदेशलाई यो कार्यक्रम हस्तान्तरण गरेपनि बागमती प्रदेशमा कर्मचारी र कार्यविधिको अभावले काम अगाडि बढ्न सकेको थिएन ।
चालु आर्थिक वर्षदेखि शहरी विकास तथा भवन कार्यालय मकवानपुरले चितवन र मकवानपुर दुई जिल्लाको कार्यक्रम संचालन गर्ने बताइए पनि काम अगाडि बढ्न नसकेको प्रमुख पाण्डेले बताउनुभयो । अन्य पुराना भवन निर्माणका कार्यहरु भने मकवानपुर जिल्लामा भैरहेको उहाँले जानकारी दिनुभयो । चालु वर्षमा मकवानपुरका ६ सय ५० घर निर्माण गर्न १५ करोड र चितवनमा ७ सय ६६ घर निर्माण गर्न १३ करोड बजेट विनियोजन भएको थियो । कार्यविधि आएपनि अहिलेको समयमा चितवनका सम्पूर्ण जनप्रतिनिधीहरुसँग छलफल हुन सक्ने अवस्था नभएपछि अघि नबढ्ने भएको प्रमुख पाण्डेले बताउनुभयो । अब, यो वर्षमा क्रमागत भएर आएका आवास निर्माण कार्य आगामी आर्थिक वर्षको साउनदेखि सुरु हुने प्रमुख पाण्डेले बताउनुभयो ।