Home मुख्य समाचार सडकमा सुतेको जनतालाई उठाउन मलाई साथ दिनुस्ः दुर्गा प्रसाई

सडकमा सुतेको जनतालाई उठाउन मलाई साथ दिनुस्ः दुर्गा प्रसाई

हेटौंडाः वित्तीय क्षेत्रविरुद्ध अभियान चलाउँदै आएका दुर्गा प्रसाईले सडकमा सुत्न बाध्य भएका जनतालाई उठाउन आफूले अभियान चलाएको बताउनुभएको छ । शनिबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएको सभालाई सम्बोधन गर्नुहुँदै अभियन्ता एव्म राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान समूहका केन्द्रीय संयोजकसमेत रहनुभएका प्रसाईले यस्तो बताउनुभएको हो ।

अहिले सर्वहारा र भुँई मान्छेहरुको गाँस, बास र कपास खोस्ने काम भइरहेको उहाँले बताउनुभयो । उहाँले वित्तीय संस्थाहरुले सुरुमा ७ प्रतिशत व्याजमा ऋण दिई हस्ताक्षर गराएर १८ प्रतिशतसम्म व्याज लिएर जनतालाई घरबारविहीन बनाएर सडकमा पुर्याएको बताउनुभयो । अहिले सरकार र बैंकले युवालाई खाडी पठाइरहेको र पीडित महिलाहरुलाई जङ्गलमा लुक्न बाध्य बनाएको उहाँले आरोप लगाउनुभयो । परदेशमा गएर कमाएको पैसा बैंकको ऋण तिर्नसमेत नसकिरहेको र देशमा हुनेलाई पनि केही गर्न नदिएको उहाँले बताउनुभयो ।

आफूले चलाएको अभियानले कसैलाई सुकुम्बासी बन्न नदिन्ने भन्दै उहाँले यो व्यवस्था परिवर्तन गर्न सबै लाग्नुपर्ने बताउनुभयो । त्यसपछि सबैको घरजग्गा फिर्ता हुने र धनीपुर्जा नयाँ बनाएर आफूले जिम्मा लगाउने अठोटका साथ आफू लागेको उहाँको भनाइ छ । आगामी फागुन १ गते काठमाडौंमा आन्दोलनको कार्यक्रम राखेको बताउनुहुँदै उहाँले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘अब अन्तिम लडाइँ लड्नुछ, सबैजना सहभागि हुनुहोला । नभए कसैको घर जग्गा जोगिनेवाला छैन ।’ उहाँले पीडितहरुलाई बैंकबाट जोगाउन आफू सबै चिज छोडेर लागेकाले सबैले आफूलाई साथ दिनुपर्ने बताउनुभयो । उहाँले अब पीडितहरु घर छाडेर जान नपर्ने र आनन्दले सुत्न पाउने दिन आउन लागेको बताउनुभयो ।

आफूले बैंक पीडितको आवाजलाई उठाउँदै गर्दा विभिन्न आरोप लाग्ने गरेको भन्दै उहाँले आफूले कुनै सहकारी नठगेको बताउनुभयो । आफूले धितो राखेर मेडिकल कलेज चलाउन ऋण लिएको तर सरकारले चलाउन नदिएको आरोप लगाउनुभयो । विद्यार्थी पढाउन र कलेज चलाउन पाए आफूले ऋण तिर्ने उहाँले उद्घोष गर्नुभयो ।

उहाँले नेपालमा कुनै दलले राजा ल्याउन नसक्ने बताउनुभएको छ । अहिले राजावादी भनिएका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत कुनै दलले राजा ल्याउन नसक्ने उहाँले दाबी गर्नुभयो । सबैले राजावादीको नाम लिएर फाइदा उठाइरहेको बताउनुहुँदै उहाँले राप्रपाका नेताहरुलाई नाटक नगर्न आग्रह गर्नुभयो । राप्रपाले राजा र हिन्दूराज्य ल्याउँछ भन्ने कुराको भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । राजा चाहिएमा आफ्नो पक्षको अभियानमा जोडिन उहाँले आग्रह गर्नुभयो । उहाँले राप्रपा अहिले सरकारमा बसेर राजा ल्याउन नसक्ने र राजा चाहिएमा सबै पदबाट राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।

अभियान समूह नारायणी अञ्चल संयोजक विजय तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय संंगठन विभागका प्रमुख हरि कार्कीलगायत जिल्ला समूहका अध्यक्षहरुको आतिथ्य रहेको थियो । सभामा मकवानपुर, चितवन, पर्सा, बारा र रौतहटका वित्तीय संस्थाबाट पीडित भनिएकाहरुको सहभागिता थियो ।

Exit mobile version