हेटौंडाः हेटौैंडा–१३ मा पदमपोखरी अस्पतालको उद्घाटन भएको छ । गत महिनादेखि सञ्चालनमा आएको अस्पताल शुक्रबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले औपचारिक उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामा, हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो । पदमपोखरी अस्पतालले पहिले ५ शैयामा सेवा दिनेछ भने आगामी दिनमा १५ शैयासम्ममा विस्तार गरिने हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख भोला चौलागाईले बताउनुभयो । चौलागाईका अनुसार अस्पतालको पुरानो भवन सानो भएकाले नयाँ भवन बनाउने गुरुयोजना बनिरहेको छ । पदमपोखरी अस्पतालमा डा. निशान अर्यालले बिरामीको जाँच गर्दै आउनुभएको छ ।
उद्घाटनकै दिन पदमपोखरी अस्पतालमा निःशुल्क स्वास्थ्य जाँच भएको छ । सेवा फाउण्डेसन र बयोधा अस्पतालको संयुक्त सहकार्यमा भएको शिविरमा ४ सय ३७ जनाको जाँच गरिएको छ । शुक्रबार भएको शिविमा २ सय ६६ जना महिला र एक सय ७१ जना पुरुषले स्वास्थ्य जाँच गराएको अस्पतालका सिनिएर अहेव शेरबहादुर ब्लोनले जानकारी दिनुभयो ।
शिविरमा आँखा जँचाएका एक सय ५० जनामध्ये ५१ जनामा मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दु देखिएका ५१ जनाको निःशुल्क शल्यक्रिया हेटौंडा सामुदायिक आँखा अस्पतालले गर्ने भएको छ । यस्तै, एक सय ८ जनाले मधुमेह जाँच गर्दा ३० जनामा पोजेटिभ देखिएको छ । शिविरमा २३ जनाले मानसिक स्वास्थ्य र ८ जनाले तालु तथा ओठ फाटेको समस्या लिएर आएका ब्लोनले बताउनुभयो । डा. निशान अर्याल र डा. करुणा ब्लोनले बिरामीको स्वास्थ्य जाँच गर्नुभएको थियो ।
