Home मुख्य समाचार माघे संक्रान्तिका लागि तरुलको बिक्री कम

माघे संक्रान्तिका लागि तरुलको बिक्री कम

हेटौंडाः माघे संक्रान्तिका लागि तरुल किन्ने मानिसको सख्या यो वर्ष कम भएको छ । हेटौंडाको विभिन्न ठाउँको तरकारी बजारमा तरुल किन्ने ग्रहकहरुको संख्या कम भएको हो ।

तरकारी व्यवसायीहरुका अनुसार यो वर्ष तरुल, पिँडालु र शखरखण्डलगायत कन्दमूल किन्न आउने ग्राहकको संख्या घटेको छ । आइतबार हेटौंडा–१, राप्ती बगरको तरकारी तथा फलफूल थोक बजारमा तरुल प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री भएको छ । वन तरुल प्रतिकेजी एक सय रुपैयाँमा बिक्री भएको छ । यस्तै, सखरखण्डा प्रतिकेजी ४० देखि ४५ रुपैयाँ र पिँडालु प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री भएको तरकारी व्यापारी केशव दहालले बताउनुभएको छ ।

पिडालु र तरुल मकवानपुर जिल्लाकै ग्रामीण क्षेत्रबाट बिक्रीका लागि आउने गरेको र रातो तरुल सर्लाही जिल्लाबाट ल्याएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । अहिले आर्थिक मन्दीको अवस्थामा तरुल दैनिक १–२ गाडीमात्र बाहिरी जिल्लाबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

खुद्रा बजारमा भने तरुल प्रतिकेजी १ सय रुपैयाँ, वन तरुल १ सय २० रुपैयाँदेखि १ सय ५० रुपैयाँमा बिक्री भइरहेको व्यवसायी जगतबहादुर मोक्तानले बताउनुभएको छ । अहिले आर्थिक मन्दीको प्रभावले पहिलाको तुलनामा धेरै कम व्यापार हुने गरेको उहाँको भनाइ छ ।

Exit mobile version