Home मुख्य समाचार आज माघे संक्रान्ति तथा माघी मनाइँदै

आज माघे संक्रान्ति तथा माघी मनाइँदै

हेटौंडाः माघ १ गतेका दिन मनाइने माघे संक्रान्ति तथा माघी पर्व आज सोमबार देशभर मनाइँदैछ । आजकै दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

माघे संक्रान्ति पर्व घिउ, चाकु, तिलको लड्डु, तरुल, खिचडीलगायतका परिकार खाएर मनाउने चलन छ । यस दिन आफन्त तथा परिवारका सदस्य जम्मा भएर अघिल्लो राति नै उसिनेको तरुल र पकाइएको चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने परम्परा छ ।

माघे संक्रान्तिका दिनलाई थारु, मगर र छन्त्याल समुदायले नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने गर्दछन् । पश्चिम तराइका जिल्लामा बसोबास गर्ने थारु समुदायले माघे संक्रान्तिलाई माघी पर्वको रुपमा मनाउने प्रचलन छ । थारु समुदायले माघ १ गतेदेखि गाउँको मुखिया चयन गर्ने, वर्ष दिनको योजना बनाउनेलगायत काम गर्दछन् ।

आज सोमबार हेटौंडामा छैटांै थारु माघी महोत्सव हुने भएको छ । माघी महोत्सव मुल आयोजक समिति मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भूटनदेवी स्कूलको चौरमा महोत्सव हुने भएको हो । थारु जातिको सांस्कृतिक, लोककला, भाषा, दर्शन, साहित्य, रितिरिवाज र थारु खाना परिकारहरुको जगेर्ना तथा प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ ।

माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारा, काभ्रेको पनौतीलगायत देशभरका नदी, त्रिवेणी तथा सागरहरुमा मेला लाग्ने गर्दछ । ती स्थानमा स्नान गर्ने भक्तहरुको घुइँचो लाग्ने गर्दछ ।

Exit mobile version