Home खेलकुद बकैयास्तरीय फुटबल प्रतियोगिताः सिनियरतर्फ वडा नम्बर ५ फाइनल प्रवेश

बकैयास्तरीय फुटबल प्रतियोगिताः सिनियरतर्फ वडा नम्बर ५ फाइनल प्रवेश

फाइनल प्रवेश वडा नम्बर ५ का खेलाडीहरु

हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौं संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगितामा सिनियरतर्फ वडा नम्बर ५ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ लाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै वडा नम्बर ५ फाइनलमा प्रवेश गरेको पालिकाका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताउनुभयो ।

निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच ५ नम्बरका गोलरक्षक सुजन लामा घोषित भए । फाइनल प्रवेश गरेको ५ नम्बरले उपाधिका लागि वडा नम्बर ३ र ९ बीचको विजेतासँग खेल्नेछ । ३ नम्बर र ९ नम्बरबीचको दोस्रो सेमिफाइनल खेल शनिबार हुँदैछ ।

प्रतियोगिताअन्तर्गत् जुनियरतर्फको दोस्रो सेमिफाइनल खेल विवादका कारण रोकिएको थियो । शुक्रबार जुनियरतर्फ वडा नम्बर १ र १० बीच खेल प्रतिस्पर्धा भइरहँदा विवाद भएपछि अर्को निर्णय नआएसम्मका लागि खेल रोकिएको अध्यक्ष थिङले बताउनुभयो ।
पालिकाले यसअघि वडाभित्रका खेलाडीले मात्र प्रतियोगितामा सहभागी जनाउन पाउने भनेर सूचना निकाले पनि वडा नम्बर १ ले बाहिर जिल्लाका खेलाडी समावेश गरेर खेलाएपछि खेलमा विवाद भएको हो । शुक्रबार साँझ आयोजकले वडा नम्बर १० लाई विजयी घोषित गरेको छ । खेल स्थगित हुँदा २–१ गोल अन्तरले वडा नम्बर १० अगाडि रहेको कारण उक्त वडा विजयी घोषित भएको हो ।
सेमिफाइनलमा विजयी भएसँगै वडा नम्बर १० फाइनल प्रवेश गरेको छ । वडा नम्बर १० र ११ बिच जुनियरतर्फको फाइनल खेल हुनेछ । जुनियरतर्फ यसअघि वडा नम्बर १२ लाई पराजित गर्दै ११ नम्बर फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता सिनियर र जुनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Exit mobile version