हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले सबै नेपाली कांग्रेसहरुले गरेको कार्यहरुको प्रतिनिधित्व गर्न सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नगर समितिले आयोजना गरेको निर्वाचित प्रमाणपत्र वितरण तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस सभापति लामाले यस्तो बताउनुभएको हो ।
उहाँले कांग्रेसको पक्षबाट संविधानको निर्माण भएता पनि राम्रो नेतृत्व नभएको बताउनुभयो । रुपान्तरणको पक्षमा लोकतन्त्रको विकास गर्न जनजातिले ठूलो भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । उहाँले ऐतिहासिकरुपमा नेपाली कांंग्रेसलाई बलियो बनाउने कार्यमा जोड दिनुपर्ने बताउनुभयो ।
जनजाति र महिलाको अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने उहाँको भनाइ छ । लोकतन्त्र र आदिवासी जनजातिको विषयमा थुप्रै कुराहरु आएकोले अरुमा निर्भर नपरेर श्रम तथा मिहिनेत गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
नेपाली लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नगर समिति अध्यक्ष हरकरत्न लामाले कार्यक्रममा सहभागी हुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जनजाति महासंघको वडा अधिवेशन पुस २१ गते भएको बताउनुभयो । पालिका अधिवेशन माघ ६ गते, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन माघ २१ गते, संघीय निर्वाचन क्षेत्र अधिवेश फागुन ५ गते हुने र जिल्ला अधिवेशन फागुन १९ गते हुने जानकारी दिनुभयो । यस्तै, बागमती प्रदेश अधिवेशन चैत १७ र १८ गते हुने र राष्ट्रिय महाधिवेशन २०८० सालको जेठ २७ र २८ गते हुने अध्यक्ष लामाले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाबाट महासंघमा निर्वाचित भएका प्रत्येक वडाका ७ जना क्षेत्रीय प्रतिनिधि गरी १ सय ३३ जना प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
महासंघ नगर अध्यक्ष लामाको सभाध्यक्ष तथा नेपाली कांगेसका सभापति लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य चङ्गुरत्न लामा, जिल्ला सदस्य कालु घलान, नेपाली कांग्रेस आदिवासी महासंघ संघीय सचिव कविन सांगामी, जिल्ला अध्यक्ष पदम तितुङ, मकवानपुर जिल्ला क्षेत्र १ का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर जिल्ला ट्रेड युनियनका सभापति यमबहादुर श्रेष्ठ र महिला संघ सभापति निलम देवकोटालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन नगर प्रतिनिधि शान्ति स्याङ्बोले गर्नुभएको थियो ।
