हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले पूर्वराजा पृथ्वीनारायण शाहको ३ सय २ औं जन्मजयन्ती मनाएको छ । शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै राप्रपा नेपाल मकवानपुर कमिटीले शाहको जन्मजयन्ती मनाएको हो ।
कार्यक्रममा बोल्नुहुँदै संविधानसभा सदस्य एवम् पूर्व एन्फा अध्यक्ष गणेश थापाले पृथ्वीनारायण शाह राष्ट्र निर्माता भएकोे बताउनुभयो । पृथ्वीनारायण शाहले राज्य एकीकरण नगरेको भए नेपाल नै नरहने उहाँको भनाइ थियो ।
पूर्वराजा शाहलाई सम्झिने क्रम पार्टीले सुरु गरेको उहाँले बताउनुभयो । पार्टीका अध्यक्ष कमल थापा सरकारमा सहभागी हुँदा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन सुरु गरेको स्मरण गर्नुहुँदै उहाँले अहिले त्यो अवस्था नरहेकोमा दुःख व्यक्त गर्नुभयो ।
पार्टीका मकवानपुर जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले पृथ्वीनारायण शाहको इतिहासलाई बिर्सन नहुने बताउनुभयो । नेपाल र नेपाली भन्न पाउने सूत्रधार पृथ्वीनारायण शाह रहेको उहाँले बताउनुभयो । देशलाई विश्वसामु चिनाउने देन पनि शाहको रहेको उहाँको भनाइ थियो ।
मुलुकमा पूर्वराजा शाहको उपदेशलाई कार्यान्वयन गरेर अगाडि बढेको भए समस्या नआउने उहाँले बताउनुभयो । देशमा अहिले शाहको उपदेश विपरित घुस र भ्रष्टाचारी बढेको उहाँले बताउनुभयो । चियापान कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य अम्बिका खतिवडालगायत पार्टीका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
