हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिकाले लकडाउनका बेला नदीजन्य पदार्थको ठेक्कामा अनियमितता गर्ने प्रयास भएको खुलेको छ । करोडौं राजश्व आम्दानीको स्रोतको रुपमा रहेको नदीजन्य पदार्थको उत्खनन्का लागि बोलपत्र (टेण्डर) आव्हानको प्रक्रियामा उपमेयर, कर्मचारी र व्यवसायीको मिलेमतोमा अनियमितताको प्रयास भएको पाइएको छ । बोलपत्र आव्हानको सूचनामा ई–विडिङको प्रावधान नराखेको पाइएपछि मेयर लवशेर विष्टले शुक्रबार सूचनामा त्रुटी भएको भन्दै कर्मचारीलाई पुनः सूचना प्रकाशन गर्न निर्देशन दिएको बताउनुभएको छ ।

सूचना प्रकाशनको प्रकृतिलाई बुझ्दा टेण्डर प्रक्रियामा मिलेमतोको भएको स्पष्ट भएको छ । नगरपालिकाले २ करोड ४० लाख ७३ हजार ३६० रुपैयाँ न्यूनतम मूल्यांकनको नदीजन्य पदार्थको उत्खनन्सम्बन्धी दुई वटा कामको टेण्डर सूचना हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकामा प्रकाशित गरेको जनाएको छ । जबकी हेटौंडामा लकडाउनका कारण चैत १३ गतेदेखि कुनै जेठ १९ गतेसम्म कुनै पनि दैनिक पत्रिका प्रकाशित भएको छैन । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले हेटौंडाकै एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको बताउनुभयो । यस्तै उहाँले टेण्डरको सूचना नगरपालिकाको वेभसाइटमा राखेर सामाजिक सञ्जालमा समेत सेयर गरिएको दावी गर्नुभयो ।

नगरपालिकाले जेठ ६ गते सूचना प्रकाशित गरेको भए पनि वेभसाइटमा जेठ १२ गते राखेर सेयर गरेको देखिन्छ । नगरपालिकाले फेसबुकमा सेयर गरेको सूचनामा शुक्रबार रातीसम्ममा ११ जनाले लाइक गरेको छन् भने त्यसमा एकजनाले पनि कमेन्ट र सेयर गरेको छैन । अझ रोचक कुरा के छ भने थाहा नगरपालिकाको फेसबुक खाता नै दुईवटा छ । अझ प्रशासकीय अधिकृत पुरीले आफू कार्यालयमै नियमित नभएकोले पनि सूचना प्रकाशनको विषयमा के के भयो भन्ने स्पष्ट नभएको समेत जीकिर गर्नुभयो ।

करोडौं रुपैयाँ राजश्व आम्दानी गर्नु पर्ने कामको सूचनाका बारेमा जिज्ञासा राख्दा उपमेयर खड्ग गोपालीले जति टेण्डर गरे पनि कसैले हाल्ने होइन अनि के गर्ने त ? भन्दै उल्टै प्रश्न गर्नुभयो । नगरपालिकाको राजश्व परामर्श समितिको संयोजक समेत रहनुभएका उपमेयरले करोडौं राजश्व आम्दानी हुने काममा मिलेमतोमै सूचनालाई सीमित गर्न खोजिएको आशयले प्रतिक्रिया दिनुभयो ।

यता मेयर लवशेर विष्टले भने १० लाख रुपैयाँको काममा त ईविडिङ गर्नुपर्छ भनेर निर्देशन दिने गरिएकोमा नदीजन्य पदार्थको करोडौंको ठेक्कामा ईविडिङको प्रावधान नराखेको, पत्रिका प्रकाशन नै नभएको अवधिमा पत्रिकामा सूचना प्रकाशित गरेको भनेपछि शुक्रबार नै सूचना सच्चिने गरी एक महिनाको म्याद राखेर ई–विडिङको व्यवस्थासहित सूचना प्रकाशित गर्न लगाएको बताउनुभयो । लकडाउनका बेला सहज आवागमनको अवस्था समेत नहुनु र खुला रुपमा प्रतिस्पर्धाको वातावरण नहुने गरी कागजी आवेदन हुनै नसक्ने मेयर विष्टको दावी छ ।