खेलकुद तथा व्यापार महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्का ।

हेटौँडाः मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा वृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ । बिहिबार हेटौँडा–१० स्थित टिसिएन मैदानमा बागमती प्रदेश सरकारकी वन तथा वातावरणमन्त्री मसिना खड्काले महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताउनुभएको छ । मन्त्री खड्काले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुदलाई आत्मासाथ गर्दै खेल्नुपर्ने बताउनुभयो ।

खेलकुदलाई प्राथमिकता दिएर नियमपूर्वक खेल खेलेमा अनुशासित हुने उहाँको भनाई छ । खेलकुदको प्रतियोगिताको माध्यमबाट आफ्नो देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने, नकारात्मक भावनालाई न्युनीकरण गर्न सकिने, आफ्नो आत्मविश्वास बढ्ने उहाँको भनाइ नियो । बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले खेल क्षेत्रको प्रोत्साहनको विषय सँगसँगै महोत्सव सुरु भएको बताउनुहुँदै महोत्सवमा सहुलियतमा बस्तु र सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले अहिले आर्थिक मन्दीको अवस्थामा खेलकुद क्षेत्रमा सोचेको जस्तो बजेट विनियोजन हुन नसकेको बताउनुभयो । उहाँले खेलकुदको विकास गर्ने उद्देश्यले आयोजना गरिएको मेलाबाट हुने आम्दानीलाई खेलकुदको विकासमा प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो । खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले महोत्सवका लागि सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

महोत्सवमा खाद्यान्न, लत्ता–कपडा, खेलौना, खाना लगायत दुई सय ५० वटा स्टलहरु रहेका छन् । पुुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १३ वटा खेल आयोजना गरिँदैछ । उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख हरिबहादुर महत, प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाको पनि आतिथ्य रहेको थियो ।