Home मुख्य समाचार नृत्य प्रतियोगितामा ११ नम्बर वडा प्रथम

नृत्य प्रतियोगितामा ११ नम्बर वडा प्रथम

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १० नम्बर वडा कार्यालयले आयोजना गरेको नृत्य प्रतियोगितामा वडा नम्बर ११ प्रथम भएको छ । हेटौंडा–१०, बसपार्कमा सोमबारबाट आयोजना गरेको घरेलु प्रदर्शनीअन्तर्गत् मंगलबार नृत्य प्रतियोगिता भएको हो ।

प्रतियोगितामा वडा नम्बर १० द्वितीय र वडा नम्बर १८ तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा वडा नम्बर ८, २, १३ र ४ सान्त्वना हुन सफल भएको छ । सान्त्वना हुने ४ वटै वडाका सहभागीले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको सभाध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले प्रतियोगितामा सहभागी भएका सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयो । वडा अध्यक्ष लामाले विभिन्न संघसंस्थाबाट उपस्थित हुनेहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपालमा लुकेको संस्कृतिलाई जगाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको वडा अध्यक्ष लामाले बताउनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, विभिन्न वडाका वडा अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा १९ वटा वडाबाट प्रतियोगीहरु सहभागी भएका थिए ।

प्रदर्शनीमा ३५ वटा स्टल रहेको थियो । जडीबुटी व्यापारी राज बुढा क्षेत्रीले स्टलमा व्यापार ठिकै भएको बताउनुभयो । आर्थिक मन्दीको अवस्था भए पनि करिब १५ हजार रुपैयाँ लगानी गरेर व्यापार गरेको बताउनुभयो । उहाँले आयोजकको व्यवस्थापनमा कमी रहेको औंल्याउनुभयो ।

Exit mobile version