हेटौंडाः हेटौंडा–१२ स्थित पञ्चशील युवा क्लबले अर्को वर्ष मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता खेल्ने भएको छ । बुधबार हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा भएको सेमिफाइन खेलमा हेटौंडा–१९ स्थित जनहित युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेसँगै पञ्चशीलले जिल्ला लिग खेल्ने पक्का भएको हो ।
पञ्चशील क्लबको जितका लागि पहिलो हाफमा धनजीवन थिङले एक गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ मिनेटमा सुनिल लोप्चन र ८५ मिनेटमा राजन गोलेले समान १–१ गोल गर्दै क्लबलाई जित दिलाए ।
जनहित युवा क्लबको तर्फबाट खेलको समय अवधिभर कसैले पनि गोल फर्काउन नसकेपछि हार व्यहोर्नुप¥यो । खेलको म्यान अफ द म्याच पञ्चशील क्लबबाट राजन गोले घोषित भएका छन् ।
आज बिहीबार दोस्रो सेमिफाइनल खेलमा बकैया गाउँपालिकास्थित बकैया युथ क्लब र हेटौंडा–५ स्थित जनप्रवाह युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिहीबारको प्रतियोगितामा विजयी टिम पनि जिल्ला लिगमा छनौट हुनेछ भने शनिबारको फाइनल खेलमा पञ्चशील युवा क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
मकवानपुर जिल्ला फुटबल संघका सदस्य आलोक स्याङ्तानको संयोजकत्वमा भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता थियो । प्रतियोगितामा प्रथम र द्वितीय हुने दुई टिम जिल्लास्तरीय टिमको रुपमा छनोट भई जिल्ला लिगमा सहभागी हुनेछन् भने आगामी लिगमा दुई वटा टिम घटुवामा पर्ने बताइएको छ ।
प्रतियोगिता संयोजक स्याङ्तानले २०७६ सालपछि एन्फा रेलिगेटेड लिग गर्नुपर्ने नियम लागू भएपछि मकवानपुरले लिग सुरु गरेको बताउनुभयो । उहाँले विभिन्न जिल्लाहरुमा विभिन्न कारणले जिल्ला लिग स्थगित भएपछि नयाँ ढंगबाट खेल सञ्चालन गर्न लागेको बताउनुभयो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्, मकवानपुर जिल्ला खेलकुद विकास समिति, हेटौंडा उपमहानगरपालिकाको ६, १० र १४ नम्बर वडा कार्यालय, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र नारायणी कलेजले सहयोग गरेका छन् । प्रतियोगिता आयोजनाका लागि करिब ४ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने र विधागत उत्कृष्ट खेलाडीका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
