Home खेलकुद खेलकुद तथा व्यापार महोत्सवमा १५ वटा खेल हुने

खेलकुद तथा व्यापार महोत्सवमा १५ वटा खेल हुने

हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको वृहत् खेलकुद तथा व्यापार महोत्सवमा १५ वटा खेल हुने भएको छ । यही पुुस ५ गतेदेखि १७ गतेसम्म आयोजना गर्न लागेको महोत्सवमा विभिन्न १५ वटा खेल सञ्चालन गर्ने निर्णय गरिएको हो ।

महोत्सव उद्घाटनकै दिन पुस ५ गते प्रभाकर पाण्डेको संयोजकत्वमा एथलेटिक्स खेल हुने भएको छ । सोही दिन सुनिल खड्कीको संयोजकत्वमा कराँते खेल हुने बताइएको छ । पुस ९ गते मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव बिक्रम लामिछानेको संयोजकत्वमा तेक्वान्दो खेल हुनेछ ।

केवल बानियाँको संयोजकत्वमा ब्याडमिन्टन खेल हुने बताइएको छ । विश्वनाथ पाठकको संयोजकत्वमा पुस ११ र १२ गते राष्ट्रियस्तरको उसु खेलको आयोजना गरिने निर्णय गरिएको छ । यस्तै, प्रकाश माझीको संयोजकत्वमा आइटीएफ हुनेछ भने आशीष थापाको संयोजकत्वमा फुटबल हुने भएको छ ।

सुनिल लोप्चनको संयोजकत्वमा रेस्लिङ, सन्तोष श्रेष्ठको संयोजकत्वमा भलिबल, मनोज शर्माको संयोजकत्वमा आठवटा नगरपालिकासहित अन्तरपालिका हक्की खेल आयोजना हुनेछ । अनिल दहालको संयोजकत्वमा बक्सिङ, किशोर श्रेष्ठको संयोजकत्वमा फुल कन्ट्रयाक्ट कराँते, सुमन नेपालीको संयोजकत्वमा कबड्डी र करन महत्रा क्षेत्रीको संयोजकत्वमा क्रिकेट आयोजना गरिने निर्णय गरिएको छ ।

महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको वृत्ति विकासमा लगाउने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले जानकारी दिनुभयो । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामूलक र खानाखाजाका स्टलसमेत रहनेछन् । यस्तै, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरीसमेत आयोजना हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा मकवानपुरमा क्रियाशील खेलकुदसँग सम्बन्धित सबै संघसंस्थाको प्रतिनिधित्व रहने बताइएको छ । महोत्सवमा विभिन्न कलाकारहरुले गायन, नृत्य, हास्यव्यङ्य प्रस्तुति गर्नेछन् ।

Exit mobile version