Home मुख्य समाचार प्रदेश सरकारको औचित्य

प्रदेश सरकारको औचित्य

केन्द्रीकृत शासन व्यवस्थामा मुलुकको सबैतिर समानुपातिक विकास हुन नसकेको भन्दै ल्याइएको संघीय शासन व्यवस्थाले पनि विकासको क्रमलाई खासै गति दिन सकेको छैन । संघीयता कार्यान्वयनसँगै नयाँ प्रयोगको रुपमा ल्याइएको प्रदेश संरचनाको आवश्यकता र औचित्य अझै पुष्टि हुन सकेको छैन । प्रदेश संरचना कार्यान्वयनमा आएको करिब ६ वर्ष भइसक्दा पनि प्रदेश सरकार प्रभावहीन बनिरहेको छ । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि प्रशासनमन्त्री रामकृष्ण चित्रकारले शनिबार प्रदेश सरकारसँग पर्याप्त कानुन नभएको बताउनुले यसलाई पुष्टि गरेको छ । मुलुकका ७ वटा प्रदेशमध्ये बागमती प्रदेशले मात्र आन्तरिक आम्दानीबाट प्रदेशको सामान्य खर्च धान्ने अवस्था छ । ६ वटा प्रदेशले प्रदेशको प्रशासनिक खर्चको ठूलो हिस्सा संघीय सरकारबाट आउने अनुदानबाट पूरा गर्नुपर्ने अवस्थामा प्रदेशको आवश्यकता र औचित्यमाथि व्यापक बहस गर्नुपर्ने र प्रदेश संरचनाको निरन्तरताबारे सोच्नुपर्ने देखिएको छ ।

शनिबार नवौं उद्योग दिवसको अवसरमा बागमती प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाको आयोजनामा उद्योग, व्यवसाय सञ्चालन नीतिगत जटिलता र समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रम भएको थियो । उक्त अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चित्रकारले देशको शासन व्यवस्था संघीयताअनुरुप गएको भए पनि ३ तहको सरकारमा अधिकार बाँडफाँड नभएकाले प्रदेश सरकारसँग पर्याप्त कानुन नभएको बताउनुभएको हो । प्रदेशसभा र प्रदेश सरकारले पहिलो ५ वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकाल सुरु भएको पनि करिब एक वर्ष भइसक्दा प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानुन बनाउन नसक्नुले प्रदेश सरकारको कार्यशैली प्रष्ट हुन्छ । संघीय राजधानी भएको र आन्तरिक आम्दानीमा अन्य प्रदेशभन्दा बलियो देखिएको बागमती प्रदेश सरकारको यस्तो अवस्था छ भने अन्य ६ वटा प्रदेशको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ ।

प्राप्त भएको अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारसँग भएको साधन स्रोतको उच्चतम प्रयोग गर्दै प्रभावकारी कार्य गर्न नसक्दा प्रदेश सरकार निरिह देखिँदै आएको छ । संघीय सरकारले जति अधिकार प्रदेशसँग हुँदैन । प्रदेश सरकारले पाएको अधिकारबाटै नागरिकले महसुस गर्नेगरी प्रभावकारी काम गर्न सक्छ । तर, प्रदेश सरकार दीर्घकालीन र स्पष्ट नीति, कार्यक्रम र योजना बनाएर सञ्चालन हुनै सकेको छैन । प्रदेश सरकारले बनाएका कानुनहरु बारम्बार संशोधन भइरहेका छन् । विगतमा प्रदेश सरकारले ल्याएका कतिपय राम्रा नीति तथा कार्यक्रमले निरन्तरता पाउन सकेको छैन । प्रदेशका अधिकांश कार्यक्रममा संघीय सरकार र स्थानीय सरकारका कार्यक्रमसँग दोहोरोपन पाइन्छ । यसले प्रदेशको बजेट दुरुपयोगको सम्भावना बढेको छ । प्रदेश सरकारले दीर्घकालीन महत्वका योजना कार्यान्वयन गर्नुको साटो कार्यकर्तालाई खुशी पार्ने किसिमका खुद्रा योजनालाई प्राथमिकता दिइरहेको छ । यसले प्रदेशले गरेको लगानीको उचित प्रतिफल देखिएको छैन ।

सुरुवातदेखि नै बागमती प्रदेश सरकार सुस्त देखिएको छ । प्रदेश सरकार गठन भएको करिब २ वर्ष प्रदेशको नाम र स्थायी राजधानी तोक्नै लाग्यो । प्रदेशको नाम र राजधानी तोकिएपछि सरकारले केही गति लेलाजस्तो अवस्थामा सरकारको नेतृत्व परिवर्तन भयो । नेतृत्व परिवर्तनसँगै नीति तथा कार्यक्रम पनि परिवर्तन हुने परिपाटीले प्रदेश सरकार अछुतो रहेन । स्थायी राजधानी कायम भएको करिब ४ वर्षसम्म प्रदेश सरकारले प्रदेशको मन्त्रालय तथा कार्यालयका लागि कुनै भौतिक संरचना निर्माण गर्न सकेको छैन । अझै पनि प्रदेशका सबैजसो मन्त्रालय तथा कार्यालय अन्य कार्यालयका लागि बनाइएका भवन तथा भाडाका घरमा रहेका छन् । देशको लागि नयाँ संरचना भएकाले प्रदेशले बिस्तारै प्रभावकारी काम गर्दै जाला भनेर समय गुजार्दै जाने हो भने प्रदेश संरचनाप्रति नकारात्मक धारणा अझ बढ्न सक्छ । प्रदेश संरचनाप्रति नकारात्मक धारणा बढ्नु भनेको प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्नुका साथै संघीयताप्रति वितृष्णा बढ्नसक्छ । प्रदेश सरकारले अरुलाई दोष दिनुको साटो स्पष्ट र दीर्घकालीन नीति बनाएर आफ्नो गति बढाएर प्रभावकारी काम गर्नु उचित हुनेछ ।

Exit mobile version