Home मुख्य समाचार जिल्ला समन्वय समितिले होल्डिङ सेन्टर सञ्चालन गर्ने

जिल्ला समन्वय समितिले होल्डिङ सेन्टर सञ्चालन गर्ने

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले विदेशबाट आएकाहरुलाई जिल्ला प्रवेशपछि सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा जानुअघि आराम गर्ने होल्डिङ स्टेशन सञ्चालनमा ल्याउने भएको छ । आज जिल्ला समन्वय समितिमा भएको स्थानीय तह समन्वय बैठकमा एक साताभित्र होल्डिङ स्टेशन सञ्चालनमा ल्याउने सहमति भएको छ ।

जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको बैठकले कोरोना भाइरसको महामारीले निम्त्याएको असहजतालाई व्यवस्थापन गर्ने र आफ्ना नागरिकलाई सुरक्षित घर फिर्ता ल्याउने र आवश्यक उपचार सेवाका लागि पहल गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको बैठकमा मकवानपुर प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले गरिनुपर्ने आवश्यक तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

होल्डिङ सेन्टर हेटौंडाको वनविज्ञान क्याम्पसमा स्थापना गर्ने बताइएको छ । होल्डिङ सेन्टरका लागि प्लान इन्टरनेशनलले पनि सहयोग गर्ने जनाएको छ । होल्डिङ सेन्टर सञ्चालनका लागि सबै स्थानीय तहले जिल्ला समन्वय समितिमा गठन गरिएको विपद् व्यवस्थापन कोषमा आवश्यकताअनुसार आर्थिक योगदान गर्नुपर्नेछ ।

Exit mobile version