रजैया–दरदरा जोड्ने पक्की पुल निर्माण गरिने स्थान ।

मनहरीः वर्षायाममा राप्ती खोलाको बाढीका कारण ढुवानी र आपूर्तिमा समस्या भोग्दै आइरहेका मनहरी गाउँपालिका वडा नं ५ का बासिन्दाले समस्याबाट मुक्ति पाउने भएका छन् । मनहरी गाउँपालिका–९ रजैयाबाट मनहरी गाउँपालिका–५, दरदरा जोड्ने पुल निर्माण निश्चित भएसँगै स्थानीयमा खुसियाली छाएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि राष्ट्रिय योजना आयोगले प्राथमिकतामा राखी रजैया–दरदरा पुल निर्माण कार्यलाई छनौट गरेको हो ।

पुल निर्माण कार्य छनौट भएसँगै बजेट विस्तृत परियोजना प्रतिवेदन निर्माणका लागि बजेट समेत छुट्याउने काम गरिएको मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले बताउनुभयो । ‘अघिल्ला आर्थिक वर्षहरुमा नै निकै प्रयत्न गरियो, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित हामीहरुले विगतदेखि नै पहल गर्दै आइरहेका थियौं’, सांसद खतिवडाले भन्नुभयो, ‘आगामी आर्थिक वर्षमा सर्भेका लागि बजेट नै छुट्याइएपछि अब पुल बन्ने निश्चित भएको छ ।’

सांसद खतिवडाले राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयमा गरिएको निरन्तर खबरदारीका कारण पुल निर्माण प्रक्रियाले गति पाएको बताउनुभयो । ‘कोरोनाका कारण नयाँ योजनाहरु नहाल्ने सरकारी नीतिका बाबजुत पनि रजैया–दरदरा पुलका लागि बजेट व्यवस्था गर्न सहजीकरण गरेको छु’, उहाँले भन्नुभयो । सांसद खतिवडाका अनुसार अब सर्भेका आधारमा पुल निर्माणका लागि थप बजेट बिनियोजन हुनेछ । पुल निर्माणपछि मनहरी गाउँपालिका वडा नम्बर ५ को दरदरा, रुन्चेडाँडा, बसन्तपुर, डिल्लीपुर लगायतका बासिन्दा लाभान्वित हुनेछन् ।

रजैया–दरदरा पुल बनेपछि मनहरी गाउँपालिकाको सबै वडाहरुमा सडक सञ्जालको पहुँच पुग्ने निश्चित भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । यसअघि मनहरी–३, लामिटारबाट वडा नम्बर १ मकरीसम्मको बाटोलाई ‘लाइफलाइन’ को रुपमा निर्माण सुरु भइसकेको छ । तर, उक्त बाटोले मनहरी–५ लाई भने छुन सकेको थिएन । बोजा डाँडा काटेर वडा नम्बर ५ लाई लामिटारबाटै सडक सञ्जाल जोड्नका लागि पनि प्रयत्न नभएको होइन । तर, प्राविधिक कारणले बोजा डाँडाको बाटो निर्माण सम्भव भएको थिएन ।

‘बर्खाको बेला मलबीउ ल्याउन र तरकारी तथा कुखुराजन्य उत्पादनको बिक्री वितरणका लागि निकै समस्या थियो’, स्थानीय युवा दीपेन्द्र अधिकारीले भन्नुभयो, ‘अबको केही समयभित्र यी सबै समस्याको समाधान पक्की पुलले गर्नेछ ।’ पुल निर्माणका लागि दबाव दिने र विभिन्न स्थानहरुमा डेलिगेसन लगायतका काम विगतदेखि नै भइरहेको र यो वर्ष सांसद खतिवडाको पहलमा पुल सर्भे सुरु हुने खबरले गाउँबासी खुसी भएको नेपाल कम्युनिष्ट पार्टी मनहरीका अध्यक्ष रामप्रसाद कालाखेतीले बताउनुभयो ।
तत्कालीन अग्निहोत्राश्रमको वार्षिकोत्सवमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मनहरी–९ स्थित रजैया आश्रममा आउँदा पनि रजैया–दरदरा पुलको माग स्थानीयले गरेका थिए । जतिसक्दो चाँडो पुल निर्माणको पहल गरिने प्रतिबद्धता दाहालले समेत व्यक्त गर्नु भएको थियो । सांसद खतिवडाका अनुसार आगामी आर्थिक वर्षमा मकवानपुर क्षेत्र नम्बर २ मा अर्काे पुलको पनि सर्भे सुरु हुनेछ । चितवनको राप्ती नगरपालिका र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ जोड्ने खरखण्डेमा पुल निर्माणको कामले गति पाउने गरी बजेट व्यवस्था गरिएको सांसद खतिवडाले जानकारी दिनुभयो ।