Home कला लौँडारी, निरौला र आचार्यका कविता उत्कृष्ट, देवराज र स्व. थापालाई सम्मान

लौँडारी, निरौला र आचार्यका कविता उत्कृष्ट, देवराज र स्व. थापालाई सम्मान

साहित्यकार देवराज खरेललाई महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८० बाट सम्मानित गरिँदै ।

हेटौँडाः महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्य संगम मकवानपुर र युगप्रकाश क्लब हेटौंडाको संयुक्त आयोजनामा आइतबार विद्यालयस्तरीय कविता प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रम भएको छ ।

हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालय परिसरमा एक कार्यक्रमका बीच महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीको अवसरमा आइतबार नेपाली साहित्यमा कविता, निबन्ध तथा साहित्यिक पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै साहित्यकार देवराज खरेललाई १० हजार एक रुपैयाँ नगदसहित महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८० बाट सम्मानित गरिएको छ । यस्तै स्व. तुल्सी थापाले विगत ५ दशक भन्दा लामो समयदेखि साहित्य, अख्यान, नाटक तथा कविता लगायतको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै मरणोपरान्त युगप्रकाश वरिष्ठ साधक सम्मान–२०८० प्रदान गरिएको छ ।

कविता प्रतियोगितामा उत्कृष्ट ३ तथा प्रोत्साहन पुरस्कार प्राप्त कविहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीर खिचाउँदै ।

यस्तै कविता प्रतियोगितामा हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीको कक्षा–८ की छात्रा कृष्मा लौँडारी, हेटौँडा–५ स्थित जिएस निकेतनको कक्षा–९ की छात्रा निमिषा निरौला र तनहुँ जिल्लास्थित साँस्कृतिक गुरुकुल माध्यमिक विद्यालयका छात्र विशप आचार्य उत्कृष्ट घोषित भएका छन् । उत्कृष्ट कविलाई जनही २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् भने हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा रितिका छत्कुली र ब्रहमदिक एकेडेमीकी कक्षा–६ की छात्रा इभानी रानाभाटले प्रोत्साहनस्वरुप जनही १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

Exit mobile version