Home समाचार बागमतीमा १५ शैयाको अस्पताल शिलान्यास

बागमतीमा १५ शैयाको अस्पताल शिलान्यास

अस्पताल भवनको शिलान्यास गरिँदै ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा १५ शैय्याको अस्पताल सञ्चालनका लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले बागमती–५ कोइराला दमारमा अस्पतालको शिलान्यास गर्नुभएको छ ।

संघीय सरकारको प्रत्येक स्थानीय तहमा १५ शैयासम्मको अस्पताल निर्माण गर्ने अभियानअनुरुप बागमतीमा अस्पतालको शिलान्यास गरिएको प्रदेश सभा सदस्य पुलामीले बताउनुभयो । जसका लागि संघीय सरकारले २१ करोड बजेट विनियोजन गरिएकोमा टेण्डर आह्वानबाट १७ करोड ८८ लाख रुपैयाँमा अस्पताल निर्माण गर्ने निर्माण कम्पनीसँग सम्झौता भएको उहाँले बताउनुभयो ।

अस्पताल निर्माण सम्पन्न भएपछि बागमती गाउँपालिकासँगै आसपासका सेवाग्राहीले सेवा प्राप्त गर्ने पुलामीले बताउनुभयो । बागमतीमा अहिले एउटा स्वास्थ्य चौकी रहेपनि प्राथमिक उपचार सेवा मात्रै पाउने अवस्था छ । अति सामान्य विरामीहरु पनि पालिकाबाहिर रेफर गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

अस्पतालबाट आधारभूत उपचार, सामान्य चिकित्सा, दन्तस्वास्थ्य, स्त्री, बाल स्वास्थ्य र सामान्य शल्यक्रियासहितको सेवा प्रदान गरिने भएको छ । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित २४ जना स्वास्थ्यकर्मी रहने जनाएको छ । अस्पताल भवन निर्माणको जिम्मा काभे्रको शिवालय बिल्डर्स प्रालिले पाएको छ । अस्पताल भवनको निर्माण कार्य २०८२ जेठ २३ सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

अस्पताल शिल्यान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलान, वडा नम्बर ५ का अध्यक्ष विजय कुमार भोलन, ४ का अध्यक्ष दन्तलाल माझी, ७ नम्बर वडा अध्यक्ष उत्तर बहादुर भोलन, २ नम्बर वडा अध्यक्ष जनक पहरी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version