Home मुख्य समाचार प्राथमिक तहको सिकाइलाई ध्यान दिनुपर्छ : प्रधानाध्यापक गुरागाईं

प्राथमिक तहको सिकाइलाई ध्यान दिनुपर्छ : प्रधानाध्यापक गुरागाईं

प्रधानाध्यापक रामसागर गुरागाईं ।

नानीमाया सापकोटा
हेटौँडा : हेटौँडा बजारमै रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई अधिकांश अभिभावकहरुले निजी तथा संस्थागत विद्यालयको विकल्पको रुपमा अपेक्षा गर्ने गर्दछन् । त्यसैले प्रत्येक वर्ष एक हजार बढी विद्यार्थीहरुले आधुनिक राष्ट्रिय माविमा अध्ययन गर्नका लागि प्रवेश परीक्षाको फारम भर्ने गर्दछन् । प्रवेश परीक्षामा सहभागीमध्ये एक तिहाइभन्दा कम विद्यार्थीहरुलाई मात्र विद्यालयले भर्ना गर्दछ ।

विद्यालयमा उपलब्ध स्रोत, साधन तथा जनशक्ति अनुरुप विद्यार्थी संख्या तोकेरमात्र भर्ना लिइने हुँदा भर्ना हुने विद्यार्थीको संख्या कम हुने विद्यालयका प्रधानाध्यपक रामसागर गुरागाईं बताउनुुहुन्छ । निश्चित स्रोत साधन उपलब्ध भएकोले थप नयाँ विद्यार्थी संख्या तोक्न त्यस वर्ष विद्यालयबाट बाहिरिएका विद्यार्थी संख्या यकिन गर्नुपर्ने हुन्छ । यस वर्ष विद्यालयले एसईईपछि बाहिरिएका र प्राथमिक तहमा नयाँ भर्नालाई समेत विचार गरी ३ सय ५६ जना नयाँ विद्यार्थी राख्न सक्ने जानकारी दिएको छ ।

पछिल्लो समय मधेस प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही तथा महोत्तरी जिल्लाबाट आधुनिक राष्ट्रिय माविमा पठनपाठन गर्नकै लागि कतिपय अभिभावकहरु अस्थायी बसाइँ सर्ने गर्दछन् । हेटौँडाकै नगर क्षेत्रका पनि प्रायः सबै वडाहरुबाट विद्यार्थी पढ्न आउने गर्दछन् । अघिल्लो शैक्षिक सत्रमा विद्यालयमा ३ हजार १ सय ७० विद्यार्थीहरु अध्ययन गरेका थिए । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा बालकक्षा अर्थात् इसीडीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ । कक्षा ११ र १२ मा विज्ञान विषयको पनि पढाइ हुँदै आएको छ । २०८० सालबाट सुरु गरिएको विज्ञान विषयको नतिजा पनि ८० प्रतिशतभन्दा बढी हुँदै आएको छ । विद्यालयमा आधारभूत (प्राथमिक) तहका शिक्षकहरु २१ जना, निमावि ८ जना, मावि ११ जना र उच्च माविमा २ जना गरी ४२ जनाको दरबन्दी रहेको छ । यस्तै, आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सबै तहमा ४४ जना शिक्षकहरु कार्यरत रहेको प्रधानाध्यापक गुरागाईंले जानकारी दिनुभयो ।

परीक्षाको नतिजामा यस विद्यालयमा अपवादमा कुनै कुनै वर्षबाहेक सधैँ ९० प्रतिशतभन्दा बढी उत्तीर्ण हुँदै आएका छन् । यीमध्ये उत्कृष्ट जीपीए प्राप्त गर्नेको संख्या धेरै हुने गरेको छ । अघिल्लो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस विद्यालयबाट ३ सय ९० जना परीक्षामा सामेल भएकोमा ५२ जनाले ३.६ भन्दा बढी जीपीए ल्याएका थिए । १ सय ५ जना विद्यार्थीहरुले ३.२ जीपीएभन्दा बढी ल्याएर ३ सय ८७ जना उत्तीर्ण भएका थिए । सो परीक्षामा ३ जना अनुत्तीर्ण भएका थिए ।

केही वर्षअघिको विद्यालयले शत्प्रतिशतसमेत विद्यार्थीहरु उत्तीर्ण भएको देखिन्छ । यस्तै कक्षा ८ को आधारभूत तह परीक्षामा यस विद्यालयबाट यसवर्ष २ सय ६१ जना विद्यार्थीहरु सहभागी भएकोमा २० जनाले ३.६ भन्दा बढी जीपीए ल्याएका थिए । ३.२ भन्दा बढी जीपीए ल्याउने विद्यार्थी १ सय १८ जना छन् । १४ जना अनुत्तीर्ण भई ग्रेडवृद्धि परीक्षामा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयले एसईईको नतिजाभन्दा पनि अबका दिनमा साना कक्षाबाट शैक्षिक गुणस्तर बढाउन केन्द्रित भएको प्रधानाध्यापक गुरागाईंको भनाइ छ । विद्यालयले पढाइमा कमजोर विद्यार्थीहरुलाई निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ । उहाँले नयाँ शैक्षिक सत्रका लागि गत चैत महिनामा नै विद्यालयको सर्वपक्षीय बैठक बसी नीतिगत निर्णय भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रत्येक कक्षाका संयोजक शिक्षक तथा विषयगत संयोजकसहित बैठक बसेर बैशाखको १० गते वार्षिक शिक्षण योजना, विद्यालयको शैक्षणिक योजना, वार्षिक कार्ययोजना अनुमोदन गरी अघि बढाइएको छ । यस्तै, विद्यालयका शिक्षकहरुलाई गत ९ गतेदेखि ३ दिने नेपाली, सामाजिक, गणित तथा विज्ञान विषयका विज्ञ शिक्षकहरुबाट सक्षमतामा आधारित, सिकाइ उपलब्धि वृद्धिमा आधारित, कक्षाकोठा क्रियाकलापमा आधारित र प्रश्नपत्रमा आधारित शिक्षकहरुलाई तालिम प्रदान गरिएकोसमेत उहाँले जानकारी दिनुभयो ।

पछिल्ला केही वर्ष विद्यालयको गुणस्तर तथा साखमा कमी आएको भन्ने नकारात्मक टिप्पणीहरु चलेकोप्रति प्रधानाध्यापक गुरागाईं असहमति जनाउनुहुन्छ । पछिल्लो समय तराइबाट आई पढ्ने विद्यार्थीहरु अभिभावकविहीन हुँदा अन्यत्र बरालिएर कक्षाकोठामा अनुपस्थित भएकोले बाहिर नकारात्मक चर्चा भएको भन्दै विद्यालयले नतिजामा कमी नल्याएको र अभिभावकहरुलाई असल अभिभावकत्व बहन गर्न समन्वय गर्ने गरेको स्पष्ट पार्नुभएको छ । विद्यालयको शिक्षक, अभिभावकहरु तथा विद्यालय व्यवस्थापन समितिको समन्वय तथा अन्तरक्रिया सकारात्मक भएकोले यस्ता समस्या आगामी दिनमा नरहने अपेक्षा उहाँले व्यक्त गर्नुभएको छ ।

विद्यालय पछिल्लो वर्षबाट झनै परिस्कृत भएको र भविष्यमा बालबालिका कक्षाकोठामा अनुपस्थित रहन नदिन अभिभावकीय शिक्षासमेत कार्यक्रममा थप गरिएको प्रधानाध्यापक गुरागाईंले बताउनुभयो । उहाँ विद्यालयको गुणस्तरमा सुधार गर्न माथिल्ला कक्षाको नतिजामात्र नहेरी साना कक्षाहरुमा सिकाइ प्रक्रियामा सुधार गर्दै जानुपर्ने सुझाव दिनुहुन्छ ।

Exit mobile version