हेटौँडाः ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय “भिटामिन ए” कार्यक्रम सुरु भएको छ । आज शुक्रबार र भोलि शनिबार सञ्चालन हुने भिटामिन ए कार्यक्रम पालिका तहबाट स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै छ ।
हरेक वर्ष वैशाख र कात्तिक महिनामा दुई पटक भिटामिन ए खुवाउने गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारीका अनुसार मकवानपुरमा ४ सय ७१ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुले १ सय १० स्वास्थ्य संस्थाको नेतृत्वमा भिटामिन ए र जुकाको औषधी खुवाउनेछ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ भने १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइँदैछ ।

मकवानपुर जिल्लामा भिटामिन ए खाने ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकाहरु ३५ हजार ५ सयको हाराहारीमा छ भने जुकाको औषधी खाने १ वर्षदेखि ५ वर्ष उमेरका बालबालिकाहरुको संख्या ३० हजार ८ सय ६२ रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिकामा नगरप्रमुख मीना कुमारी लामाले भिटामिन ए कार्यक्रमको उद्घाटन गर्नुभएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
नगरप्रमुख लामाले हेटौंडा–११, नवलपुरस्थित त्रिभूवन माध्यमिक विद्यालय खोप केन्द्रमा पुगेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउनुभएको छ । हेटौँडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब केशव तिमल्सिनाका अनुसार हेटौँडाका १२ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने छ ।