Home मुख्य समाचार निरन्तरको एउटा लज्जा

निरन्तरको एउटा लज्जा

समृद्ध समाज दैनिकमा कार्यरत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर समाचार लेख्ने संवाददाताको हरेक महिनाको १० गतेको एउटा जिम्मेवारी हुन्छ हेटौँडा अस्पतालको प्रसुती वार्ड र शल्यक्रिया वार्डमा पुगेर अघिल्लो एक महिना हेटौँडा अस्पतालमा कतिजना किशोरी आमा बने भन्ने विवरण लिनु । आफैं एक किशोरी हुँदै गर्दा हाम्री संवाददाताले हरेक महिना असाध्यै गम्भीर भएर, मनमा अनेकौं कल्पना गरेर किशोरी आमाका समाचार लेख्नुहुन्छ । तर, यो समाचारको नियमित लेखनले उहाँलाई लाग्दो हो यो समाचार लेखेर चैं के हुन्छ ? हरेक महिना किशोरी आमाको कथा पत्रिकाको प्राथमिक विषय बनिरहँदा सरोकारवालाले ध्यान किन नदिएको होला भन्ने हाम्रो सम्पादकीय समूहमा पनि बेला बेलामा विमर्श भइरहन्छ ।

प्रदेश सरकार मातहतको अस्पतालको एक महिनाको तथ्यांक हेर्दा पनि अत्यास लाग्दो हुन्छ । असोज महिनामा मात्रै ३३ जना किशोरी आमा बनेका छन् । कतिपय किशोरीले दोस्रो सन्तान समेत जन्माइसकेका हुन्छन् । जबकि नेपालमा २० वर्षभन्दा कम उमेरमा विवाह नै गैरकानुनी हुन्छ । अर्थात २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु दण्डनीय अपराध हो । तर, यहाँ त विवाह मात्रै होइन, सन्तानलाभ अवस्था समेत आइसकेको छ । विवाह नै गैरकानुनी भए पनि जन्मिएको सन्तानको जन्मदर्ता हुन सक्दैन । जन्मदर्ता नै नहुँदा नवजात शिशुले दुख पाउनुपर्ने अवस्था रहन्छ । यी त भए व्यवहारिक कुरा ।

कानुनी र स्वास्थ्यका दृष्टिकोले बालविवाह र किशोरी आमाको कथा असाध्यै जटिल र गम्भीर विषय हो । कानुन विपरितको यत्तिधेरै क्रियाकलापलाई तीन तहको सरकार रहेको आजको व्यवस्थामा किन देखे–नदेखे गरिरहन्छ ? राज्यको दायित्वप्रति यतिबिघ्न नदेखे जस्तो गर्न पनि त नमिल्ला नि । जनताको पक्षमा काम गर्छौं भन्दै तीन तहको सरकारमा पुगेकाहरुले समाजमा भइरहेका यस्ता क्रियाकलापप्रति किन मौन बसिरहेका छन् ? हेटौँडा उपमहानगरपालिकाको सन्दर्भमा भन्छौं भने त नगरप्रमुख नै महिला हुनुहुन्छ । ११ नम्बर वडा अध्यक्ष पनि महिला नै हुनुहुन्छ । स्थानीय सरकारमा खुला महिला र दलित महिला सदस्य समेत हुनुहुन्छ । स्थानीय सरकारको कार्यपालिका सदस्यमा पनि महिलाको उपस्थितिलाई सुनिश्चित गरिएको छ । तर, महिलाकै विषयमा यत्ति गम्भीर विषय उठान भइरहँदा देखे–नदेखे गर्नु व्यवहारिक होला ?

बालविवाह, किशोरावस्थामा सन्तान जन्माउने जस्तो जोखिमपूर्ण कार्यलाई न्यूनीकरण गर्न सरकार र नागरिक समाजको गम्भीर हस्तक्षेप जरुरी छ । हामीले समाचार, विचार प्रकाशन गरिरहँदा सरकारको मौनताप्रति प्रश्न गर्ने नागरिक समाजको पनि अभाव छ । हुन त हामी पनि नागरिक समाजकै एक अंग हौं । तर, हामीले एकपटक समाचार या विचार प्रकाशन गर्नु नै हाम्रो जिम्मेवारी हो । जसलाई हामीले निर्वाह गरिरहेका छौं भन्ने लाग्छ । समाजका अन्य पेशा, व्यवसायमा रहेका व्यक्तिले पनि यो मुद्दामा चासो दिनुपर्छ भन्ने हाम्रो बुझाई हो । अध्ययन, सिकाई, भविष्यको सुन्दर सपनाको परिकल्पना गदै विद्यालयमा रमाउँदै विश्वविद्यालय जाने तयारी गर्नुपर्ने किशोरीलाई आमा बन्नबाट रोक्ने जिम्मेवारीबाट जो कसैले आआफ्नो तर्फबाट भूमिका निर्वाह गरौं । यो निरन्तरको लज्जाको समाचारको अन्त्यको अपेक्षा गरौं ।

Exit mobile version