Home मुख्य समाचार मानवसेवाको महत्वाकांक्षा

मानवसेवाको महत्वाकांक्षा

हेटौँडाबाट एक दशकअघि सुरु भएको मानवसेवाको महाअभियान यतिबेला देशव्यापी बनेको छ । सहयोगापेक्षी सडकमानवको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको प्रयासस्वरुप स्थापित मानवसेवा आश्रमले उल्लेखनीय कार्य गर्दै आएको छ । व्यक्ति, समुदाय, स्थानीय, प्रदेश र संघीय सरकार समेतको सहयोगमा मानवसेवा आश्रमले देशभर शानदार आश्रम बनाउनुका साथै हजारभन्दा बढीलाई आश्रय दिइरहेको छ । सयौंलाई परिवारमा पुनर्मिलन समेत गराएको छ । यतिबेला भने मानवसेवा आश्रमका अभियन्ताहरु आनी छोइङ डोल्मा फाउण्डेशनसँगको सहकार्यमा मेची–महाकाली उद्दार अभियानमा छ ।

मेची महाकाली उद्दार अभियानमा सोमबारसम्ममा एक सय ३२ जना सहयोगापेक्षी सडक मानवको उद्दार गरेको छ । ४० दिने अभियानअन्तर्गत पहिलो १५ दिनसम्ममा विभिन्न जिल्लाबाट एक सय ३२ जनाको उद्दार गरिएको हो । पूर्वको मेचीबाट सुरु भएको अभियान सोमबार दाङको घोराही, तुलसीपुरमा पुगेको थियो । अभियान मंसिर ४ गते नेपालगन्ज पुगेर समापन हुने बताइएको छ ।

मानवसेवा आश्रमका अभियन्ताहरुले हेटौँडाबाट विजारोपण गरेको मानवीय सेवाको कार्यमा यतिबेला सिंगो देशलाई नै सहयोगापेक्षी सडकमानवमुक्त बनाउने लक्ष्यले चलायमान बनाएको छ । सहयोगापेक्षी सडकमानवमुक्त बनाउने विषयको घोषणा जति लोकप्रिय छ, त्यो भन्दा कैयौं गुणा जटिल छ, यो घोषणालाई सार्थक तुल्याउन । राज्यले संकल्प गर्नुपर्ने, सार्थक तुल्याउनुपर्ने मुद्दामा नागरिकको एउटा समूहले प्रयास गर्नु जायज नै थिएन कि भन्ने प्रश्नमा पनि छलफल गर्नु आवश्यक छ । अझ नेपाल जस्तो अविकसित र भारत जस्तो विशाल मुलुकसँगको फराकिलो सीमानाका खुला रहीरहेका अवस्थामा सहयोगापेक्षी सडकमानवमुक्त समाज निर्माण गर्नु कम्ति कठिन विषय होइन ।

मानवसेवा आश्रमले हालसम्म उद्दार गरेका र आश्रममा अहिले पनि स्याहार गरिरहेका मध्ये ठूलो हिस्सा भारतीय नागरिकको छ । सहयोगापेक्षी सडकमानवहरु अधिकांशमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहने गरेको छ । कतिपयको अवस्था त गम्भीर प्रकृतिका देखिन्छन् । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उद्दार र संरक्षण अझ जटिल र संवेदनशील समेत हुन्छ ।

सडकमानवको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलन गराउँदै सहयोगापेक्षी सडकमानवमुक्त देश बनाउने योजनालाई सफल पार्न अभियन्ताको मिहिनेतलाई साथ र सहयोग गर्नेतर्फ तीनै तहका सरकार र नागरिक समाजको भूमिका अनिवार्य रहन्छ । यसका लागि अभियन्ताहरुले सक्दो प्रयत्न गरेकै देखिन्छ । अभियन्ताको प्रयासमा तीनै तहका सरकार र नागरिक समाजले असाध्यै प्रशंसा गर्दै सहयोगको बोली त बोलिरहेका छन् तर, सहयोगको प्रतिवद्धता कार्यान्वयनमा भने उनीहरु जिम्मेवार भइरहेको देखिँदैन । सहयोगापेक्षी सडकमानवको संख्या घटाउने मात्रै नभई सहयोगको अपेक्षासहित मानिसहरु घर–परिवार छाडेर आउने अवस्थालाई न्यूनीकरण गर्न पनि आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ । समस्याको समाधान मात्रै नभई समस्या नै आओस् भनी सतर्कता अपनाउनेतर्फ राज्यका निकाय नै जिम्मेवार नहुँदासम्म नागरिक समाजको प्रयास सफल हुन सक्दैन । तसर्थ सार्थक प्रयासका लागि राज्यलाई नै जिम्मेवार र जवाफदेही बनाउनतर्फ पनि अभियन्ताको ध्यान जानु जरुरी छ ।

Exit mobile version