Home मुख्य समाचार हेटौंडामा वडास्तरमै क्वारेन्टाइन निर्माण हुँदै

हेटौंडामा वडास्तरमै क्वारेन्टाइन निर्माण हुँदै

हेटौंडाः कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न जिल्ला बाहिर तथा देश बाहिरबाट आएकालाई आवश्यकताअनुसार राख्न हेटौंडा उपमहानगरपालिकामा वडास्तरमै क्वारेन्टाइन निर्माण भइरहेको छ । नगरका १९ वटा वडामध्ये वडा नम्बर १२ र १३ मा क्वारेन्टाइन सञ्चालनमा आइसकेको छ भने वडा नम्बर ३, ८ र १५ मा पनि क्वारेन्टाइन निर्माणका लागि आवश्यक सामग्री पठाइसकिएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले जानकारी दिनुभएको छ ।

उपमहानगरले ५० लाख रुपैयाँको कोष स्थापना गरी वडा वडामै क्वारेन्टाइन निर्माण गर्न सुरु गरेको हो । जेठ १९ गते वडा नम्बर १२ र १३ मा क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा आइसकेको छ । यस्तै उपमहानगरपालिकाले हेटौंडा–१०, गोरक्षेश्वर मन्दिर परिसरमा पनि क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । गोरक्षेश्वरस्थित क्वारेन्टाइनमा जिल्लाका अन्य पालिकाका नागरिक आए पनि उनीहरुलाई सम्बन्धित पालिकाले जिम्मा लिएर लैजानुअघि बस्ने व्यवस्था मिलाएको छ ।

वडा स्तरमा क्वारेन्टाइन निर्माण गर्न लाग्दा कुनै कुनै वडामा स्थानीयले अवरोध समेत गर्न खोजेको खबर आइरहेको भन्दै उपमेयर मीनाकुमारी लामाले दुख व्यक्त गर्नुभएको छ । आफ्नै टोल, समुदायका दाजुभाई, दिदीबहिनी आउँदा सहज र सुरक्षित बसोबासको व्यवस्था मिलाएर आपसमा सौहाद्र्धता कायम गर्न समेत आग्रह गर्नुभएको छ । उपमहानगरपालिकाले आफ्ना नागरिकलाई सुरक्षित राख्न र सुरक्षित घर फिर्ता ल्याउन प्रयास गरिरहेकोले नागरिक तहबाट पनि साथ र सहयोग जरुरी रहेको उहाँले बताउनुभयो ।

Exit mobile version