Home अर्थ/व्यापार व्यापार व्यवसाय खुलाउन मउवा संघको पहलमा सर्वदलीय बैठक

व्यापार व्यवसाय खुलाउन मउवा संघको पहलमा सर्वदलीय बैठक

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका व्यापार व्यवसाय खुलाउन आज शुक्रबार सर्वदलीय बैठक बसेको छ । हेटौंडामा भएको सर्वदलीय बैठकमा नेकपाका जिल्ला अध्यक्ष मुनु सिग्देल, नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेकपाका एकलाल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष मधु अधिकारी लगायतका अन्यको सहभागिता रहेको थियो ।

सबै राजनीतिक दलहरुले लकडाउनको सन्दर्भमा व्यापार व्यवसायी गर्नेहरुलाई बैंक व्याजमा राहत दिन संघीय सरकारलाई घचघचाउने भएका छन् । बैठकमा बजार खुलाउने, केन्द्र सरकारलाई लकडाउनको समयको बैंकको व्याज मिनाहा गर्ने विषयमा केन्द्रित रहेको उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । सम्पूर्ण पार्टीका तर्फबाट सकारात्मक प्रतिक्रिया आएको उहाँले बताउनुभयो । उनीहरुले अहिले देशमा संक्रमण बढ्दो रहेको भन्दै सबै बजार खोल्दा भयको सिर्जना हुन सक्ने बताएका छन् । अहिले सरकारले गर्न खोज्दा खोज्दै पनि गर्न नसकेको तथा नियन्त्रण बाहिर जाँदै गरेको अवस्था रहेकोमा पनि व्यवसायीको माग जायज रहेको भन्दै सबै राजनीतिक दलहरुले सहयोग गर्ने भएका छन् ।

यता व्यावसायीहरु रोगले भन्दा पनि भोकले मर्ने समय भएको भन्दै, कर, घरबहाल, कर्मचारीको पारिश्रमिक र म्याद गुज्रने समस्याले मानसिक चिन्तामा जान लागेको अध्यक्ष कटुवालले बताउनुभयो ।
सरकारले पनि लकडाउनको मोडल परिवर्तन गर्ने तयारी गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालले अहिले प्रशासनसँग मौखिक सहमति गरेर बिहान ९ बजेसम्म पसल व्यवसाय सञ्चालनमा आए तापनि लिखित रुपमै प्रशासनसँग सहमति गर्न सर्वदलीय छलफलको आयोजना गरिएको बताउनुभयो । संघीय सरकारको आदेश अनुसार प्रशासनले पनि आफ्नो कार्य गरेको भन्दै व्यवसायीहरुलाई राज्यले सहयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version