Home मुख्य समाचार उपमहानगरको वार्षिक समीक्षाः पारदर्शितालाई बेवास्ता गरिँदै, समीक्षामा उपप्रमुख र वडाध्यक्ष नै अनुपस्थित

उपमहानगरको वार्षिक समीक्षाः पारदर्शितालाई बेवास्ता गरिँदै, समीक्षामा उपप्रमुख र वडाध्यक्ष नै अनुपस्थित

फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० को समीक्षा आन्तरिकरुपमा मात्रै गरेको छ । उपमहानगरपालिकाको महाशाखाका प्रमुखमार्फत प्रस्तुती र समीक्षा गरिएको छ । स्थानीय सरकारको वार्षिक समीक्षाका विषयमा सञ्चारकर्मीलाई समेत जानकारी गराइएको थिएन । हेटौँडा उपमहानगरपालिकाले आफ्ना कामकारवाहीलाई पारदर्शी गर्नुपर्ने जिम्मेवारी विपरित आफ्ना क्रियाकलापलाई गोप्य र आन्तरिक तहमै सीमित गर्न प्रेरित भइरहेको छ । शुक्रबारको समीक्षा कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ नै अनुपस्थित हुनुहुन्थ्यो ।

पारदर्शीरुपमा नियमित कार्य गर्नुपर्ने, सञ्चारकर्मीलाई पूर्व जानकारी दिएर आफ्ना क्रियाकलापलाई स्वतन्त्ररुपमा सम्प्रेषण हुने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता विपरित उपमहानगरपालिकाले नगरप्रमुखको सचिवालयमार्फत तयारी समाचार सम्प्रेषण गरिरहेको छ । पालिकामा २०७४ सालदेखि निरन्तर जनप्रतिनिधि भएदेखि समीक्षा आन्तरिकरुपमा मात्रै भइरहेको छ । नगर प्रमुखको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार उपमहानगरपालिकाको सभाकक्षमा सीमित उपस्थितिमा कर्मचारी संयन्त्रमा मात्रै समीक्षा गरिएको छ । जनप्रतिनिधिहरुले नेतृत्व गर्ने विषयगत समितिमा भने समीक्षा हुन सकेको छैन । स्थानीय सरकारको मन्त्रालयकोरुपमा रहने समितिका संयोजकहरुले भने समीक्षामा आफ्नो समितिकोतर्फबाट कुनै किसिमको प्रस्तुती र समीक्षा गरिएको छैन ।

कर्मचारी तहमा भने सामान्य प्रशासन महाशाखा प्रमुख शान्ति बिश्वकर्मा, आर्थिक विकास महाशाखा प्रमुख राजेश्वरी शाही, शहरी पूर्वाधार विकास महाशाखाका इन्जिनियर सुबोध थापा, सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, शिक्षा विकास महाशाखाका हरिचन्द्र सापकोटा, महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले आआफ्ना प्रस्तुती राख्नुभएको थियो । वार्षिक समीक्षा भनिए पनि योजना तथा कार्यक्रमका बारेमा कुनै किसिमको टिकाटिप्पणी नभएको समीक्षामा सहभागी एक अधिकारीले बताएका छन् । दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म नगरपालिकाकै सभाकक्षमा सम्पन्न समीक्षामा विषयगत समितिका संयोजक समेत रहेका वडा अध्यक्षहरु समेत अनुपस्थित थिए ।

समीक्षा बैठकमा उपमहानगरबाट भएका कार्यहरुको सवल, सुधार गर्नुपर्ने काम, चुनौति र अपनाउनु पर्ने रणनीतिको बारेमा छलफल गरिएको बताइएको छ । छलफलका क्रममा उपमहानगरका कामलाई थप प्रभावकारी बनाउनका लागि सबैको सहकार्य आवश्यकता औँल्याइएको नगर प्रमुखको सचिवालयले जनाएको छ । नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । “नगरको विकासका लागि एक अर्काको सहयोग आवश्यक रहेको उल्लेख गर्नुहुँदै नगरप्रमुख लामाले सेवाप्रवाहलाई चुस्त बनाउँदै वडा तहबाट हुन सक्ने सेवा प्रवाहलाई नगरसम्म ल्याउने काम रोक्न निर्देशन दिनुभएको छ”, नगरप्रमुखको सचिवालयले भनेको छ । समस्या र चुनौतिलाई समाधान गर्नका लागि महाशाखा प्रमुखहरुलाई सुक्ष्म अध्ययन गरी आगामी मासिक बैठकमा प्रतिवेदनसहित उपस्थित हुन नगरप्रमुखले निर्देशन दिनुभएको बताइएको छ ।

हेटौँडा उपमहानगरले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३० करोड ९ लाख ५५ हजार रुपैयाँको बजेट मध्ये चालुतर्फ १ अर्ब ४० करोड ३९ लाख ८४ हजार ३४५, पुँजीगततर्फ १ अर्ब ६ करोड १३ लाख ३२ हजार ६७० रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ८५ लाख ६५ हजार ७० रुपैयाँ गरी जम्मा २ अर्ब ४७ करोड ७८ लाख ८२ हजार ८५ रुपैयाँ खर्च गरेको नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ । वार्षिक समीक्षामा वडाध्यक्ष, नगर कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृतको मात्रै उपस्थिति रहेको थियो । स्थानीय सरकार पारदर्शी, जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउँदै आए पनि हेटौँडा उपमहानगरपालिकाले ध्यान दिन सकेको छैन ।

Exit mobile version