हेटौंडाः मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको प्रसौनी गाउँपालिका–५, नकटुवाका ४१ वर्षीय रमेश महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बिहीबार राति ११ बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डको हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट लागूऔषध खैरो हेरोइनसहित महतोलाई नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २४६८ नम्बरको यात्रुवाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा महतोलाई शंका लागि शरीरको खानतलासी गर्दा पाइन्टको खल्तीभित्र लुकाइछिपाई राखेको अवस्थामा १८ ग्राम लागूऔषध खैरो हेरोइन फेला परेको थियो । खैरो हेरोइनसहित महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
