Home मुख्य समाचार उपभोक्तालाई सहुलियत

उपभोक्तालाई सहुलियत

नेपालीहरुको प्रमुख चाड बडादशैं नजिकै आएको छ । १५ दिनसम्म मनाइने दशैंको सुरुवात हुन दुई दिन बाँकी छ । आइतबार घटस्थापनाका दिन घरघरमा तथा शक्तिपीठहरुमा जमरा राखेसँगै दशैं औपचारिकरुपमा सुरु हुन्छ । दशैं नजिकिँदै जाँदा बजारमा दशैंको किनमेल गर्नेहरुको घुइँचो बढ्दै गइरहेको छ । नेपाली बजारमा सबैभन्दा बढी चहलपहल यसैबेला हुन्छ । दशैंलाई लक्षित गरेर विभिन्न वस्तुहरुमा अनेकन उपहार तथा छुटको व्यवस्था गरिन्छ । आम उपभोक्तालाई दशैं, तिहारमा वस्तु खरिदका लागि आक्रामक प्रवद्र्धनात्मक कार्यक्रमले प्रभाव पनि पार्ने गरेको छ । निजामती, सेना, प्रहरी, शिक्षकसहित सबै राष्ट्रसेवक कर्मचारीका लागि चाडपर्व खर्चको नाममा दिइने एक महिनाको तलब बराबरको रकम पनि दशैंमा नै दिने गरिएको छ । दशैं खर्चबापत अधिकांश सामाजिक संघसंस्था तथा निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरुले पनि आफ्ना कामदार कर्मचारीलाई थप रकम उपलब्ध गराउने गरेका छन् । यसकारण पनि दशैंको समयमा बजारमा बढी चहलपहल देखिने गरेको छ ।

दशैं, तिहारजस्ता महत्वपूर्ण चाडपर्वको समयमा सबै नेपाली खुशी भएर रमाउन चाहन्छन् । यसका लागि उपभोक्तामैत्री बजार हुनुपर्छ । रोजगारीमा संलग्न भएका अधिकांशले दशैंमा थप रकम पाउने गरेको भए पनि आम सर्वसाधारण नेपालीले यस्तो सुविधा पाउँदैनन् । तर, उनीहरुको पनि परिवारमा दशैंको आवश्यकता उस्तै हुने गर्दछ । चाडपर्वको समयमा आम नेपालीलाई लक्षित गरेर विषेशगरी उपभोग्य वस्तुहरुको सहज उपलब्धता, सहुलियत मूल्य र गुणस्तरीय वस्तुको बेचविखनको व्यवस्था मिलाउनु आवश्यक हुन्छ । यस्तो समयमा संघीय सरकारले साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य व्यवस्था कम्पनीजस्ता सार्वजनिक संस्थानमार्फत् सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने गरेको छ । तर, ती पसलहरुको संख्या सिमित हुने र ठूला शहर केन्द्रित हुने भएकाले आम सर्वसाधारणको पहुँचमा हुँदैनन् । दशैंजस्तो महत्वपूर्ण चाडपर्वको समयमा प्रदेश सरकार, स्थानीय सरकार, उद्योगी तथा व्यवसायीका संघसंस्थालगायत सरोकारवाला निकायले पनि आम उपभोक्तालाई राहत हुने गरी सहुलियत मूल्यमा अत्यावश्यक वस्तुहरु उपलब्ध गराउन उचित व्यवस्था मिलाउनुपर्नेमा ती निकायहरु उदासिन बनिदिँदा आम उपभोक्ता मारमा पर्ने गरेका छन् ।

नेपाली बजारमा दशैं, तिहारको समयलाई व्यापारको मुख्य सिजन मानिन्छ । दशैं, तिहारले सबै प्रकारका व्यापार व्यवसायमा प्रभाव पार्ने गरेको छ । दशैंको केही साता अघिदेखि छठसम्मको करिब डेढ महिना नेपालको गाउँ, शहर चाडपर्वमय बन्दछ । यस समयमा आन्तरिक पर्यटकको चहलपहल पनि उल्लेख्य हुने गर्दछ । आम नेपालीले यो समयमा तुलनात्मकरुपमा बढी खर्च गर्दछन् । यही मौकामा व्यापारीहरुले पनि वस्तु तथा सेवा बिक्रीका लागि हरतरहका प्रयास गर्दछन् । यसले बजारमा धेरै खालका अनियमितता पनि देखिने गर्दछ । आम नेपालीले आपसमा खुशी भएर मनाउने चाडपर्वलाई केही व्यवसायीले भने कमाउने ठूलो मौका ठान्ने गर्दछन् । कृत्रिम अभाव सिर्जना गर्ने, महंगो मूल्य लिने, मिसावट गर्ने, गुणस्तरहीन र म्याद गुज्रिएका सामान बिक्री गर्नेजस्ता कालाबजारी अन्य समयमा भन्दा चाडपर्वको समयमा बढी फस्टाउने गरेको छ ।

दशैं, तिहारजस्ता मुख्य पर्वलाई न्यून आयस्तर भएका नेपालीले पनि सहजरुपबाट मनाउन सक्ने अवस्था सृजना गर्न सरकारले आवश्यक कार्य गर्नुपर्दछ । हुन त सरकारले न्यून आय भएका नागरिकको लागि वर्षैभरि सहुलियत मूल्यमा अत्यावश्यक वस्तु उपलब्ध गराउनुपर्ने हो । यस्तो व्यवस्थाका लागि सहकारीमार्फत् गाउँ शहर सबैतिर सुपथ मूल्य पसलको व्यवस्था गर्न सकिन्छ । स्थानीय, प्रदेश र संघीय सरकारले अत्यावश्यक वस्तुको सहज र सरल आपूर्तिको व्यवस्थाका लागि सहुलियत मूल्य पसल सञ्चालनको व्यवस्था मिलाउन सकेमा महंगी नियन्त्रणमा पनि यसले सहयोग पुर्याउँछ । उद्योग तथा वाणिज्यसँग सम्बन्धित वस्तुगत तथा विषयगत संघसंस्थाहरुले पनि दशैं, तिहारको अवसरमा आफ्ना उपभोक्ता तथा सेवाग्राहीलाई सहुलियत मूल्यमा वस्तु बिक्रीको उचित व्यवस्था गर्नुपर्छ । उद्योग प्रतिष्ठानहरुले पनि महत्वपूर्ण चाडपर्वको बेलामा उपभोक्तालाई विशेष सहुलियत प्रदान गर्नेतर्फ उचित व्यवस्था गर्नु आवश्यक छ ।

Exit mobile version