Home मुख्य समाचार चिकित्सकमाथि आक्रमण गर्ने सबै धरौटीमा छुटे

चिकित्सकमाथि आक्रमण गर्ने सबै धरौटीमा छुटे

सञ्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने समुह । फाइल तस्बीर

हेटौँडाः गत भदौ २७ गते हेटौँडा–१ स्थित सञ्चो हस्पिटलमा विरामीको उपचार गरिरहेका चिकित्सकलाई सांघातिक आक्रमण गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गरेको छ । मंगलबार जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले धरौटी माग गर्ने आदेश गरेको हो ।

अधिकारीको आदेशमा चिकित्सकमाथि आक्रमण गर्ने रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको थियो भने रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, सुनिल पाख्रिन र जीवन लामालाई जनही २ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो । अदातलले धरौटीमा रिहा गर्न सकिने आदेशसँगै ६ जना नै मंगलबार नै धरौटी बुझाएर प्रहरी हिरासतमुक्त भएका छन् ।

सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परेका चिकित्सक थापाले हेटौँडा छाडिसकेका छन् । हेटौँडामा चिकित्सकमाथि सांघातिक आक्रमण भएसँगै देशैभर चिकित्सकमाथि सांघातिक आक्रमण सुरु भएको थियो ।

यसैबीच प्रहरीले चिकित्सकमाथि आक्रमण गर्ने अर्का एकजनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले हेटौँडा–१२, सिक्रेनीका ३६ को सुवास स्याङ्तानलाई बुधबार दिउँसो साढे १२ बजेको समयमा हेटौँडा–१०, बसपार्कबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका स्याङ्तानलाई प्रहरीले बिहिबार जिल्ला अदालतमा हाजिर गराउने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ । प्रहरीले अदातलबाट पक्राउ पुर्जी जारी गरेका १३ जनामध्ये अझै ६ जना फरार छन् ।

Exit mobile version