Home मुख्य समाचार शुल्क घटाउन क्रान्तिकारीको माग

शुल्क घटाउन क्रान्तिकारीको माग

हेटौंडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विद्यालयले लिने गरेको चर्काे शुल्क कम गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिकालाई मागपत्र बुझाएको छ । शुक्रबार क्रान्तिकारी मकवानपुर जिल्ला अध्यक्ष सूर्य सी नेतृत्वमा हेटौैंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामालाई मागपत्र बुझाएको हो ।

मागपत्रमा देशमा २०७२ सालको संविधान बनेपश्चात् संविधानमा व्यवस्था गरेको अनिवार्य र निःशुल्क शिक्षा पनि राज्यले पूर्णरुपमा लागू नगरेको भन्दै शिक्षा ऐनमा भएको विरोधाभाषपूर्ण धारामा टेकेर विभिन्न बहाना बनाएर सरकारी विद्यालयहरुले चर्को शुल्क लिइरहेका र निजी विद्यालयले पनि मनपरी रुपमा शुल्क असुल गरिरहेकाले नगरपालिकाले शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृति, विसंगति र समस्याहरुको समाधान गर्नुपर्ने माग गरिएको छ ।

क्रान्तिकारीले विद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति दिनुपर्नेमा लक्षित वर्गमा नपुगेको पाइएकाले त्यसको तत्काल छानविन गरी छात्रवृत्तिको प्रावधान कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । अध्ययन माध्यम भाषाको विभेदलाई अन्त्य गर्न शिक्षा ऐनको दफा ७ (१) मा भएको प्रावधानबमोजिम समान भाषा माध्यम लागू गरी विषयगत आवश्यकताको आधारमा अन्य भाषाको प्रयोग गर्नुपर्ने माग मागपत्रमा छ । मागपत्रमा शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुको समाधान नभएमा संगठन संघर्षमा होमिन बाध्य हुने र त्यसको जिम्मेवारी सम्बन्धित निकाय नै लिनुपर्ने चेतावनीसमेत दिइएको छ ।

Exit mobile version