हेटौंडाः मकवानपुर प्रहरीले भन्सार छलि ल्याएको मदिरा र २ वटा कारसहित ५ जना भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट शुक्रबार र शनिबार २ वटा भारतीय कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
प्रहरीले चितवनबाट आउँदै गरेको डि एल २ सि ए के १३९० र डि एल २ सि ए के ७२७३ नम्बरको भारतीय कारलाई नियन्त्रणमा लिएको हो । प्रहरीले डिएल २ सिएके १३९० कार चालक पश्चिमी दिल्लीका २७ वर्षीय बिक्की, सोहि गाडीमा सवार २५ वार्षीय राहुल, र डिएल २ सिएके ७२७३ नम्बरको कार चालक पश्चिमी दिल्ली बस्ने २८ वर्षीय कुनाल, सोही कारमा सवार ३१ वर्षीय नहिम, र ३७ वर्षीय राजु लाई अबैध रक्सी सहित पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुको साथबाट रोयल ग्रीन नामको ८ सय ५५ बोतल रक्सी बरामद गरेको हो । रक्सी सहित पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालय पठाउने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतको युपिमा रक्सी प्रयोगमा छुट रहेको र विहार प्रान्तमा निषेधित रहेकोले नेपालको बाटो हुँदै भारत तर्फ नै रक्सी लैजान खोजेको देखिन्छ ।
