आन्दोलनबारे जानकारी गराउँदै ।

हेटौंडाः सरकारले सदनमा पेश गरेको विद्यालय शिक्षासम्बन्धी विधयकको बिरोधमा नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने भएको छ । नेपाल शिक्षक महासंघको आयोजनामा असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन हुने भएको हो ।

असोज ३ गते देशका ७७ वटै जिल्लाका विद्यालय बन्द गरी काठमाडौंमा सडक आन्दोलनको तयारीमा रहेको नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकालले बताउनुभयो । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी महासंघको अगुवाईमा आन्दोलन हुन लागेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

सरकरले सदनमा पेश गर्नेगरी करिब एक महिनाअघि पनि मन्त्रिपरिषदबाट संघीय शिक्षा ऐनको विधेयक पारित भएपछि महासंघले विधेयकमा सुधार गर्नुपर्ने बुँदाहरुको बारेमा सरकारलाई लिखित जानकारी गराएको उहाँको भनाइ छ । त्यही बेला महासंघको अगुवाइमा स्थानीय, जिल्ला, प्रदेश र केन्द्रसम्म पहिलो चरणको आन्दोलन गरिसकेको नेपाल शिक्षक महासंघ मकवानपुर अध्यक्ष ढकालले बताउनुभयो ।

शिक्षकको आन्दोलनकै कारण हाल दर्ता भएको विधेयकमा केही बुँदा परिवर्तन भए पनि यसअघि पटकपटक शिक्षकहरुसँगको सहमतिअनुरुप विधेयक नभएको उहाँले जानकारी दिनुभयो । सरकारले अहिले सदनमा पेश गरेको शिक्षा ऐनमा १७ वटा बुँदा परिवर्तन गर्नुपर्ने महासंघको माग रहेको उहाँको भनाइ छ । अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, शिक्षकको बढुवा, शिक्षकको सरुवालगायका माग राख्दै सरकारले केही बुँदा परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

सरकारले गणतन्त्र पश्चात् पहिलो पटक शिक्षा ऐन परिवर्तन गर्न खोजेको भए पनि शिक्षा विधेयक २०८० शिक्षकको हितमा नभएको ढकालले बताउनुभयो । शिक्षा विधेयक पुनर्लेखन गर्न जरुरी रहेको बताउँदै सरकारले सार्वजानिक शिक्षा व्यावस्थित नगरी व्यापारीकरण गर्न खोजेको आरोपसमेत उहाँले लगाउनुभयो । सरकारले ल्याएको विधेयकमा ट्रेड युनियको अधिकार नै खोस्ने काम गरको उहाँको भनाइ छ ।

प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा उल्लेख भएबमोजिम स्थानीय तहलाई सम्पूर्ण अधिकार दिँदा राजनीतिक आस्था र पक्षधरताको आधारमा काम हुने जोखिम रहेको बताइएको छ । शिक्षा क्षेत्र शिक्षकसँग मात्र नभई विद्यार्थीको भविश्यसँग जोडिएको हुनाले आभिभावकलाई समेत आन्दोलना सहाभागी हुन ढकालले अनुरोध गर्नुभयो । सरकारले शिक्षकको मागलाई छिट्टै नै सम्बोधन गरेमा आफूहरु विद्यालय बन्द गर्ने पक्षमा नरहेको उहाँले स्पष्ट पार्नु भयो ।

पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईं, नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य रामकुमार अधिकारीलगायत विभिन्न शिक्षक संघ संगठनमा आवद्घ शिक्षकहरुको उपस्थिति रहेको थियो ।

संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले गत भदौ २७ गते प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता गर्नुभएको थियो । शिक्षा ऐन २०२८ लाई विस्थापन गर्नेगरी दर्ता गरिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा रहेका केही प्रावधानको शिक्षक महासंघ र महासंघ आवद्ध घटकहरुले बिरोध गर्दै आन्दोलन घोषणा गरिएको हो ।