फाइल तस्वीर ।

हेटौँडाः मकवानपुर र बाराबीच मैत्रीपूर्ण दुई एक दिवसीय क्रिकेट सुरु भएको छ । आइतबार हेटौँडा–४, हुप्रचौरमा भएको पहिलो खेलमा मकवानपुरले पाहुना टोलीलाई ६५ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले ३३ ओभरमा १ सय ५९ रन जोड्न सफल भयो ।

मकवानपुरका लागि गौरव खड्काले ५१ रन, शुभ कंशाकार ३४ रन र सक्षम बास्ताकोटीले २९ रन जोडे । बाराका अनिल साह र सन्देश यादवले ३÷३ विकेट लिए । १ सय ६० रनको मध्यम लक्ष्य लिएर व्याटिङमा उत्रिएको बारा ९४ रनमै समेटियो । घरेलु टोलीका बलरमाझ बाराका व्याट्सम्यान २४ ओभरमै अलआउट भए । बाराका लागि अरनिको यादवले २५ रन, विराट यादवले २२ रन र भुलवान सहनी २० रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

मकवानपुरका समीर चौलागाई र साकार गजुरेलले समान ३ विकेट लिए । आजको खेलको म्यान अफ द म्याच मकवानपुरका गौरव खड्का घोषित भए । दुई मैत्रीपूर्ण खेलमध्ये बाँकी एक खेल सोमबार हुप्रचौरमा हुने मकवानपुर जिल्ला क्रिकेट संघका सचिव बिनोद बानियाँले जानकारी दिनुभएको छ ।